संसारलाई कठिन सवाल गर्ने मान्छेको खाँचो छ
ताकाआकी काजिता
काठमाडौं । विश्वका सबैभन्दा ठूला विश्वविद्यालयहरूमध्ये एक, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा उपस्थित भएर तपाईंहरूको ग्र्याजुएसनको खुसी मनाउन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।
ग्र्र्याजुएसन एउटा औपचारिक समारोह मात्र होइन । यो त रूपान्तरणको अवस्था हो। यसले जीवनको एउटा अध्यायको अन्त्य र अर्को अध्यायको सुरुवात गर्छ। तपाईंहरू अहिले अवसर र अनिश्चितताले भरिएको संसारमा पाइलो हाल्दै हुनुहुन्छ। एआईजस्ता प्रविधिहरूले हाम्रो समाजलाई अभूतपूर्व गतिमा परिवर्तन गरिरहेका छन्। जलवायु परिवर्तन, असमानता र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी चुनौतीले मानवताको परीक्षा लिइरहेका छन्। काम र ज्ञानको स्वरूप पनि बदलिँदैछ ।
यसको अर्थ के हो भने आजदेखिको तपाईंको यात्रा सधैँ सहज नहुन सक्छ। कहिलेकाहीँ तपाईंले आफैँमाथि शंका गर्नुहुनेछ, कहिलेकाहीँ भविष्य अस्पष्ट देखिन सक्छ ।
आज तपाईं यहाँ उपस्थित हुनुको अर्थ हो– तपाईंले यसभन्दा अघि नै चुनौतीहरू पार गरिसक्नुभएको छ। तपाईंले धैर्य, जिज्ञासा र दृढता देखाइसक्नुभएको छ। यी गुणहरूले तपाईंलाई भविष्यमा आउने जुनसुकै परिस्थितिमा पनि मार्गदर्शन गर्नेछन्।
भौतिकशास्त्रीका रूपमा मैले जीवनको एउटा ठूलो हिस्सा ब्रह्माण्डका रहस्यहरू बुझ्न खर्च गरेको छु। भौतिकशास्त्रले हामीलाई के सिकाउँछ भने हरेक प्रक्रियाले समय लिन्छ। र जबसम्म कुनै ठूलो उपलब्धि हात लाग्दैन, तबसम्म प्रगति अदृश्य रहन्छ। जीवनको सफलतामा पनि यही कुरा लागू हुन्छ। यसका लागि दृढ इच्छाशक्ति, निरन्तर प्रयास र परिणाम तत्काल नदेखिँदा पनि आफ्नो काम लक्ष्यतर्फ अघि बढिरहेको छ भन्ने विश्वास आवश्यक हुन्छ ।
म तपाईंहरूलाई आफ्नो कथा सुनाउँछु ।
स्नातक तहमा पढ्दै गर्दा म एउटा अनुसन्धानमा सहभागी भएँ। जापानको पहाडी क्षेत्रमा जमिनमुनि रहेको ‘कामियोकान्दे’ नामक ठाउँमा सो परीक्षण हुँदै थियो। त्यतिबेला मेरो अनुसन्धानको विषय थियो– प्रोटोन क्षय जुन त्यस समय निकै चासोको विषय थियो। मैले प्रोटोन क्षयको अवलोकन गर्न सफल भइनँ। तथापि, यसै अनुसन्धानका लागि सन् १९८६ को मार्चमा मैले पीएचडी प्राप्त गरेँ। पीएचडीपछि पनि मैले यो अध्ययन निरन्तर जारी राखेँ।
त्यही क्रममा, १९८६ को अन्त्यतिर, मैले कामियोकान्दे डिटेक्टरमा प्रोटोन क्षय खोज्दा पृष्ठभूमिमा देखिने घटनाहरू अर्थात् न्युट्रिनो अन्तरक्रियाहरू विद्यमान सिद्धान्तसँग मेल नखाने कुरा देखेँ। मलाई लाग्यो, सायद मेरो विश्लेषणमा कुनै गम्भीर गल्ती छ। त्यसलाई पत्ता लगाउनु जरुरी ठानेँ। यसरी नै मेरो न्युट्रिनोसम्बन्धी अनुसन्धान सुरु भयो।
१९८८ मा जब हामीले यस विषयमा शोधपत्र लेख्यौँ, कामियोकान्देका न्युट्रिनो तथ्याङ्कलाई समर्थन गर्ने अन्य कुनै परीक्षण थिएन। त्यसैले एक जना वरिष्ठ सहकर्मीले मलाई यो विषय छाडेर अझ उपयोगी वा महत्त्वपूर्ण विषय अध्ययन गर्न सुझाव दिए।
तर मैले यो अनुसन्धान छाडिनँ। सफलता निश्चित छ भनेर होइन। बरु यो समस्या आफैँमा महत्वपूर्ण छ र यसको अध्ययन गर्नैपर्छ भन्ने विश्वास मलाई थियो।
त्यसको करिब १० वर्षभन्दा बढी समयपछि सन् १९९८ मा सुपर कामियोकान्दे परीक्षणका तथ्यांकबाट हामीले पत्ता लगायौँ– न्युट्रिनो समस्याको कारण यसको स्वरूपमा हुने परिवर्तन रहेछ। यसको अर्थ न्युट्रिनोको तौल कम भए पनि हुने नै रहेछ। त्यसअघि न्युट्रिनोलाई तौलविहीन मानिन्थ्यो। त्यसैले यो अध्ययनले भौतिकशास्त्रको नयाँ ढोका खोल्यो।
वैज्ञानिक खोज व्यक्तिगत विकासजस्तै एक रेखीय हुँदैन। यसमा थुप्रै बन्द बाटा, अनपेक्षित मोडहरू हुन्छन्। अनि कहिलेकाहीँ अचानक ठूलो उपलब्धि हुन्छ। तर त्यस्ता उपलब्धि हजारौँ घण्टाको अदृश्य मेहनतको परिणाम हुन्छन्।
आफ्नो प्रशंसा गर्न होइन, एउटा सन्देश दिनका लागि मैले यो कथा सुनाएको हुँ।
तपाईंले यस्ता परिस्थितिहरू सामना गर्नुहुनेछ, जहाँ स्पष्ट उत्तर भेटिँदैन। कहिलेकाहीँ सबैभन्दा अर्थपूर्ण बाटो नै सबैभन्दा सुरक्षित नहुन सक्छ। त्यस्ता क्षणहरूमा म तपाईंलाई जिज्ञासा र साहसको बाटो रोज्न प्रोत्साहित गर्छु। संसारलाई त्यस्ता मान्छेको खाँचो छ– जो कठिन प्रश्न सोध्न डराउँदैनन्, जो नवीन खोज गर्छन्, जो परिकल्पना गर्छन् र जो निर्माण गर्छन्।
सायद तपाईं आफैँसँग सोध्नुहुन्छ होला, ‘मेरो भूमिका के हो? मैले के फरक पार्न सक्छु?’
यसको उत्तर म एउटा सरल कुराबाट दिन चाहन्छु।
भविष्य कस्तो हुन्छ भन्ने कुरा सबैभन्दा बलियाहरूले तय गर्न सक्दैनन्। बरु यसको निर्णय तिनले गर्छन्, जो निरन्तर प्रयास गरिरहन्छन्।
तपाईं शिक्षक बन्नुहोस्, वैज्ञानिक, इन्जिनियर, नीति निर्माता वा आफ्नो समुदायका नेता– तपाईंको योगदान महत्त्वपूर्ण छ।
केही असाधारण मान्छेका कारणले समाजको प्रगति हुने होइन। प्रगति त धेरैभन्दा धेरै मानिसहरूले निराशाको साटो धैर्य अनि उदासीनताको साटो जिम्मेवारी रोज्दा हुन्छ।
म तपाईंहरूलाई तीनवटा गुण विकास गर्न आग्रह गर्दछु।
पहिलो हो– उद्देश्यबोध।
उद्देश्य भनेको तपाईंका निर्णयहरूलाई दिशा देखाउने कम्पास हो। यसको अभावमा सफलता पनि खोक्रो लाग्न सक्छ र चुनौतीहरू असह्य देखिन सक्छन्। उद्देश्यले कठिन समयमा तपाईंलाई शक्ति दिन्छ।
दोस्रो, लचिलोपन ।
जीवन सधैँ योजना अनुसार चल्दैन। योजना बदलिन्छन्। कहिलेकाहीँ तपाईंको उत्कृष्ट प्रयासले पनि तुरुन्त सफलता नदिन सक्छ । लडेर फेरि उठ्न सक्ने क्षमता तपाईंले विकास गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण सीपहरूमध्ये एक हो।
तेस्रो, करुणा र विनम्रता ।
कोही पनि एक्लै सफल हुँदैन। तपाईंलाई मार्गदर्शन गर्ने शिक्षकहरूप्रति, सहयोग गर्ने परिवारप्रति र साथ दिने साथीहरूप्रति कृतज्ञ रहनुहोस्। जीवन र पेसामा सफल हुँदै जाँदा अरूलाई पनि सँगसँगै उठाउनुहोस्।
सम्भावनाले भरिएको यात्राको सुरुवाती विन्दुमा उभिनुभएको छ तपाईं। चुनौतीहरू अवश्य आउनेछन्, तर असाधारण अवसरहरू पनि आउनेछन्। तपाईंमा सपना देख्ने, काम गर्ने र आफ्ना विचारहरूलाई यथार्थमा रूपान्तरण गर्ने क्षमता छ।
कृपया आत्मविश्वासका साथ अघि बढ्नुहोस्। बाटो सजिलो भएकाले हिँड्नुहोस् भनेको होइन, बरु तपाईंमा त्यो बाटो हिँड्ने शक्ति भएकाले भनेको हुँ।
तपाईंको जिज्ञासाले तपाईंलाई मार्ग देखाओस्। तपाईंको दृढताले तपाईंलाई टिकाइरहोस्। र, तपाईंको योगदानले नेपाल र संसारका लागि उज्यालो भविष्य निर्माण गर्न सहयोग गरोस्।
त्रिविको ५७ औं दीक्षान्त समारोहमा प्रमुख अतिथि नोबेल पुरस्कार विजेता ताकाआकी काजिताले दिएको मन्तव्य
