रसुवा भन्सारले मनायो ७४ औँ भन्सार दिवस, चालु आर्थिक वर्षको हालसम्म एक अर्ब १६ करोड राजस्व सङ्कलन
टुरिजमफेस
रसुवा । ७४औँ भन्सार दिवसका अवसरमा रसुवा भन्सार कार्यालयले टिमुरेमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममार्फत कार्यालयले हालसम्मको राजस्व सङ्कलन, भन्सार क्षेत्रको अवस्थालगायत विषयबारे जानकारी गराउँदै व्यवसायी तथा कर्मचारीलाई सम्मान गरेको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म रू एक अर्ब १६ करोड राजस्व सङ्कलन भएको छ । साथै चीनबाट सामान बोकी आएका करिब २०० वटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण कार्य भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको उनले बताए । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ कार्य बाँकी छ ।
भन्सार दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने दुई जना व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको छ । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा राज्यलाई रू तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजीमोटर सप्लायर्स तथा रू ७४ करोड बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स, काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेश दत्त जोशीलाई सम्मानपत्र प्रदान गरिएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मिना थापामगर, भन्सार एजेन्ट सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार सङ्घका सहकोषाध्यक्ष सुमन श्रेष्ठ, सिन्धुपाल्चोक वाणिज्य सङ्घका उपाध्यक्ष इन्द्र राउतलगायतले आआफ्ना धारणा राखेका थिए ।
वक्ताहरूले रसुवागढी नाकालाई नीतिनियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकले माग गरेका छन् ।
यसैबीच, हिउँदको सुक्खा पहिरो होस् वा वर्षायामको हिलो पहिरो, पन्छाइ रसुवागढी खण्डमा सडक सञ्चालन राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रलाई पनि कार्यक्रम स्थलबाट प्रशंसा गरिएको थियो । सोसम्बन्धी जानकारी भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले दिएका थिए । भन्सार दिवसको कार्यक्रमले रसुवागढी नाकाको विकास, सहकार्य र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन् ।
