लगातारको हिमपातले मुक्तिनाथ यात्रामा अवरोध, भक्तजन कागबेनीमै अड्किए
कागबेनी । माथिल्लो मुस्ताङ क्षेत्रमा परेको भारी हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि मुक्तिनाथ दर्शनका लागि हिँडेका सयौँ भक्तजन कागबेनीमै रोकिएका छन्। सडक बन्द हुँदा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान देखिएको छ।
जोमसोमबाट मुक्तिनाथतर्फ जाने सवारीसाधन बुधबार बिहानदेखि नै बाक्लो हिउँका कारण उकालो चढ्न नसकेको स्थानीय प्रशासनले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले बिहानैदेखि हिउँ पन्छ्याएर सडक खुलाउने प्रयास गरे पनि मौसम थप खराब हुन सक्ने अनुमानका कारण काम अस्थायी रूपमा रोकिएको थियो।
वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार कागबेनीको पहिलो मोडदेखि सेल्फी पार्क, कालोभीर, खिंगा, झारकोटलगायत स्थानमा सडक पूरै हिउँले ढाकिएपछि सवारी आवागमन ठप्प बनेको हो। सडक बन्द भएपछि केही भक्तजनले वैकल्पिक रूपमा कागबेनीबाट घोडामार्फत मुक्तिनाथ पुग्ने प्रयास गरिरहेका छन्।
हिमपातले मुक्तिनाथ क्षेत्रको धार्मिक तथा पर्यटकीय गतिविधिमा ठूलो असर परेको मुक्तिनाथ विकास समितिले जनाएको छ। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार हिमपातअघि दैनिक पाँच सयभन्दा बढी भक्तजन आउने गरे पनि बुधबारदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति निकै न्यून बनेको छ।
सडक खुल्ने अनिश्चितताबीच हाल मन्दिरका गतिविधि नियमित पूजापाठमै सीमित गरिएको भुसालले जानकारी दिए। मंगलबार राति परेको भारी हिमपातले मुक्तिनाथ क्षेत्रसहित झारकोट, खिंगा, रानीपौवा बजार, पुराङ र छेङ्गुरलगायतका बस्तीहरू पूरै सेताम्मे बनेका छन्।
