बलिदानको सम्झनामा सहिद दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौँ । देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि जीवन आहुति दिने वीर सहिदहरूको सम्मानमा आज देशभर सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्दै प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित सबै ज्ञात–अज्ञात सहिदको स्मरण गर्दै आज विविध कार्यक्रम आयोजना गरिएका छन्।
इतिहासका पानामा अमर बनेका ती चार सहिदलाई तत्कालीन राणा सरकारले स्वतन्त्रताको आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिएको थियो। उनीहरूको त्याग, साहस र प्रेरणाले नै निरङ्कुश राणा शासनको अन्त्य हुँदै नेपालमा प्रजातन्त्रको बीजारोपण भएको मानिन्छ।
सहिद सप्ताह र ऐतिहासिक स्मरण
माघ १० गतेदेखि १६ गतेसम्म ‘सहिद सप्ताह’ घोषणा गरी देशका विभिन्न स्थानमा स्मृति सभा, दीप प्रज्वलन, प्रभातफेरी तथा श्रद्धाञ्जली कार्यक्रम हुँदै आएका छन्। विसं २०१२ सालदेखि तत्कालीन काठमाडौँ नगरपालिकाको अगुवाइमा सहिद दिवस औपचारिक रूपमा मनाउन थालिएको इतिहास छ।
१९९७ सालमा स्वतन्त्रताको माग चर्किंदै जाँदा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा, तथा गङ्गालाल श्रेष्ठ र दशरथचन्द्र ठाकुरलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। ती घटनाले नेपाली जनमानसलाई झनै जागरुक बनाउँदै ऐतिहासिक परिवर्तनतर्फ डोर्याएको थियो।
सहिद दिवस केवल विगतको स्मरण मात्र नभई लोकतन्त्र, स्वतन्त्रता र न्यायको मूल्यलाई वर्तमान र भावी पुस्तासम्म हस्तान्तरण गर्ने दिनका रूपमा लिइन्छ। आजको दिन सहिदको सपना र आदर्शलाई आत्मसात् गर्दै राष्ट्र निर्माणप्रति प्रतिबद्धता जनाउने अवसरका रूपमा पनि हेरिँदै आएको छ।
