त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरीमा ७ लाखभन्दा बढी यात्रु आवागमन
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२६ को जनवरी महिनामा उल्लेखनीय संख्यामा यात्रु आवागमन भएको छ। विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा कुल ७ लाख ५० हजार १ सय ८३ यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन्।
यस अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्या ४ लाख ३१ हजार ६ सय ३५ पुगेको छ भने आन्तरिक यात्रु संख्या ३ लाख १८ हजार ५ सय ४८ रहेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ २ लाख १० हजार ८ सय ८७ यात्रु काठमाडौंबाट बाहिरिएका छन् भने २ लाख १९ हजार ३ सय ६१ यात्रु विदेशबाट नेपाल भित्रिएका छन्।
आन्तरिक उडानतर्फ भने १ लाख ६२ हजार २ सय ३१ यात्रु प्रस्थान गरेका छन् र १ लाख ५६ हजार ३ सय १७ यात्रु काठमाडौं अवतरण गरेका छन्।
उडान–अवतरण संख्याका आधारमा हेर्दा, आन्तरिकतर्फ हेलिकप्टरसहित २० वायुसेवा कम्पनी सक्रिय रहे। जनवरी महिनाभर आन्तरिक उडानतर्फ कुल ६ हजार ८ सय ९ उडान–अवतरण भएका छन्, जसमध्ये ३ हजार ४ सय ३ प्रस्थान र ३ हजार ४ सय ६ अवतरण रहेका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ २ हजार ९ सय ४९ उडान–अवतरण भएका छन्। यसमध्ये १ हजार ४ सय ७५ प्रस्थान र १ हजार ४ सय ७४ अवतरण समावेश छन्।
एक महिनामै साढे सात लाखभन्दा बढी यात्रुको आवागमनले हवाई यात्रा गतिविधि पुनः उच्च दरमा चलायमान रहेको संकेत गरेको विमानस्थल स्रोतले जनाएको छ।
