सीमित उडान तालिका सार्वजनिक गर्दै कतार एयरवेज, नेपाल उडान अझै टुंगोमा पुगेन
काठमाडौं
मध्यपूर्वमा बढ्दो तनाव र इरानसँगको युद्धका कारण कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित बनेको छ। यही अवस्थाबीच कतार एयरवेजले दोहा आवत–जावतका लागि सीमित उडान तालिका सार्वजनिक गरेको छ। तर नेपालतर्फको उडान भने अझै स्पष्ट हुन सकेको छैन।
एयरलाइन्सले मार्च १७ सम्म लागू हुने गरी नयाँ अस्थायी तालिका जारी गर्दै दिल्ली, ढाका, न्यूयोर्क, बेइजिङ, मुम्बईलगायत विश्वका १४ सहरमा दैनिक उडान गर्ने व्यवस्था मिलाएको जनाएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणबाट सीमित मार्ग प्रयोग गर्न अस्थायी अनुमति पाएपछि प्रभावित यात्रुलाई गन्तव्यसम्म पुर्याउन यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको हो।
कम्पनीले जारी गरेको सूचनामा कतारको हवाई क्षेत्र बन्द भएका कारण नियमित उडानहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उल्लेख गरिएको छ। यात्रुहरूलाई सकेसम्म सहज रूपमा यात्रा गराउन र विभिन्न देशमा अलपत्र परेकाहरूलाई गन्तव्यसम्म पुर्याउन प्रयास जारी रहेको पनि एयरलाइन्सले बताएको छ।
एयरलाइन्सका अनुसार कतारको हवाई क्षेत्र सुरक्षित भएको घोषणा सम्बन्धित निकायबाट भएपछि मात्र नियमित उडानहरू पूर्ण रूपमा पुनः सञ्चालन गरिनेछ। त्यसअघि सीमित मार्गमार्फत मात्र केही अन्तर्राष्ट्रिय गन्तव्यमा उडान जारी रहनेछ।
अवरोधका कारण विभिन्न विमानस्थलमा रोकिएका यात्रुका लागि केही सिधा ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडानको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। यात्रुहरूलाई टिकट पुष्टि नभएसम्म विमानस्थलमा नआउन आग्रह गर्दै भीडभाड नगर्न पनि चेतावनी दिइएको छ।
नेपाल उडान अझै अनिश्चित
नेपाल–कतार उडान नेपाली यात्रुका लागि महत्वपूर्ण मानिन्छ। सामान्य अवस्थामा कतार एयरवेजले दोहा–काठमाडौँ मार्गमा दैनिक तीनवटा उडान सञ्चालन गर्दै आएको छ। वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली मात्र नभई युरोप र अमेरिका जाने यात्रुहरूका लागि पनि यो एयरलाइन्स प्रमुख ट्रान्जिट विकल्पका रूपमा प्रयोग हुँदै आएको छ।
तर हाल सार्वजनिक गरिएको सीमित तालिकामा काठमाडौँको नाम समावेश गरिएको छैन। यसले नेपालतर्फ यात्रा गर्ने सयौँ यात्रु अन्योलमा परेका छन्। केही यात्रु विदेशमा अलपत्र परेको अवस्थासमेत देखिएको छ।
विश्वभर दैनिक करिब एक हजार उडान सञ्चालन गर्ने यस एयरलाइन्सले नेपाल उडान कहिलेदेखि पुनः सुरु गर्ने भन्नेबारे भने अझै स्पष्ट जानकारी दिएको छैन। त्यसैले दोहा–काठमाडौँ उडान पुनः सञ्चालन हुने समयबारे यात्रुहरू अझै प्रतीक्षामा छन्।
