भ्रामक भिडियो प्रकरणः दुर्गा प्रसाईं पोखरामा नियन्त्रणमा
पोखरा — निर्वाचन आयोगको प्रतिष्ठामा आँच पुग्ने खालका भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले पक्राउ गरेको हो।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईंले केही दिनअघि सार्वजनिक गरेको एक भिडियो सामग्रीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। उक्त भिडियोमा उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर निर्वाचन आयोगका पदाधिकारीहरूले ठूलो रकम लिएर नतिजा प्रभावित पारेको दाबी गरेका थिए।
प्रसाईंको अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै निर्वाचन आयोगले संवैधानिक निकायको विश्वसनीयता कमजोर बनाउने प्रयास भएको निष्कर्ष निकालेको थियो। सोही आधारमा आयोगले अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो।
आयोगको आग्रहपछि प्रहरीले दुई फरक युनिट परिचालन गरेको जनाइएको छ। सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीको डिजिटल फरेन्सिक परीक्षणका लागि साइबर ब्युरो र पक्राउ तथा थप अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौँलाई जिम्मेवारी दिइएको थियो।
प्रहरीका अनुसार प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ। काठमाडौँ पुगेपछि उनीविरुद्ध साइबर अपराध वा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा अघि बढाउने वा नबढाउने भन्ने विषयमा कानुनी परामर्शपछि टुंगो लाग्ने बताइएको छ।
