रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) का संरक्षक रेशम चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्न नपाउने भएका छन्। कैलाली क्षेत्र नम्बर १ बाट दर्ता भएको उनको उम्मेदवारी निर्वाचन अधिकृतले खारेज गरेका हुन्।
निर्वाचन अधिकृत देवराज भारतीले जारी गरेको निर्णयअनुसार प्रचलित कानुनअनुसार चौधरीको मनोनयनपत्र कायम रहन नसक्ने ठहर गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले जन्मकैदको सजाय पाएको व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्ने व्यवस्था गरेकाले उम्मेदवारी खारेज गरिएको जनाइएको छ।
निर्वाचन कार्यालयका अनुसार सर्वोच्च अदालतको फैसलाबाट चौधरीलाई जन्मकैदको सजाय भएको देखिनु, यसअघि निर्वाचन आयोगले उनलाई राजनीतिक दलको सदस्य हुनसमेत अयोग्य ठहर गरिसकेको निर्णय, र राष्ट्रपतिबाट आममाफी पाए पनि सजाय यथावत् रहेको तथ्य उम्मेदवारी खारेजीका मुख्य आधार बनेका छन्।
टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर निर्वाचनसम्बन्धी कानुनले जन्मकैदको सजाय पाएका व्यक्तिलाई उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला पनि उनको उम्मेदवारी खारेज भएको थियो। त्यसपछि उनका बुवा लालवीर चौधरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए, जो पछि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका थिए। हाल लालवीर चौधरी नाउपा नेपालमै सक्रिय छन्।
