न्युयोर्कमा ‘डेस्टिनेसन नेपाल’ को सशक्त प्रस्तुति
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले उत्तर अमेरिकी बजारमा नेपालको पर्यटन उपस्थिति थप मजबुत बनाउने लक्ष्यसहित अमेरिकाको न्युयोर्कमा सम्पन्न ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । दुई दिने उक्त अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी २४ र २५ जनवरी २०२६ मा जेकब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना गरिएको थियो ।
संयुक्त राज्य अमेरिका नेपालका लागि निरन्तर रूपमा महत्वपूर्ण पर्यटक स्रोत बजार रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार ३१६ अमेरिकी नागरिकले नेपाल भ्रमण गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक आगमन स्रोत मुलुक बनेको छ । यही सम्भावनालाई ध्यानमा राख्दै एनटीबीले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा उक्त शोमा सहभागिता जनाएको हो ।
मेलामा छ वटा नेपाली पर्यटन कम्पनीहरूले नेपालका साहसिक पर्यटन उत्पादन, पर्वतारोहण, ट्रेकिङ तथा विविध प्राकृतिक र सांस्कृतिक आकर्षणबारे जानकारी प्रस्तुत गरेका थिए । सहभागिता जनाउने कम्पनीहरूमा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स रहेका थिए ।
दुई दिनसम्म चलेको कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी, साहसिक यात्राप्रेमी तथा सम्भावित पर्यटकहरूले नेपालको एडभेन्चर टुरिजमप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङ गतिविधिप्रति देखिएको आकर्षणले नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा ‘डेस्टिनेसन नेपाल’ को ब्रान्ड छविलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको पहिलो दिन, २४ जनवरीमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले नेपालको पभेलियन अवलोकन गर्दै सहभागी कम्पनीहरूसँग अन्तरक्रिया गरेका थिए । सो क्रममा विशेषगरी अमेरिकाको पूर्वी तटीय राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित क्षेत्र र सहकार्यका अवसरबारे छलफल भएको थियो ।
नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
