न्युयोर्क — अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।
न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तीव्र हावाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। अत्यधिक चिसो आर्कटिक हावाले उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न गरेको मौसमविद्हरूले बताएका छन्।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम निरन्तर शून्य डिग्री सेल्सियसभन्दा तल रहनेछ। दक्षिणी राज्यहरूमा समेत असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्।
उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ। आँधीसँग सम्बन्धित हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य घटनामा परेर ज्यान गएको जनाइएको छ। मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ।
मंगलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन्। टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन्। यसैबीच देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द वा प्रभावित भएका छन्। रासस