हुस्सुले थुन्यो त्रिभुवन विमानस्थल: आकाशमै घुमिरहेका जहाज, यात्रुका योजना अनिश्चित
काठमाडौँ । बाक्लो हुस्सु कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘पर्ख र हेर’को अवस्थामा पुर्याएको छ। बिहान ७:२० बजेदेखि विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान एकाएक प्रभावित भएका छन्।
विमानस्थल कार्यालयका अनुसार साढे ९ बजेसम्म रनवे वरपरको दृश्यता केवल ५०० मिटरमा सीमित रह्यो। जबकि काठमाडौंमा अवतरणका लागि जहाजलाई कम्तीमा ११०० मिटर दृश्यता आवश्यक हुन्छ। टेकअफका लागि पनि आवश्यक न्यूनतम मापदण्ड पूरा नहुँदा रनवे सुनसान बनेको छ।
हुस्सुको प्रभाव यति गहिरो देखिएको छ कि काठमाडौं आउँदै गरेका केही अन्तर्राष्ट्रिय विमानहरू आकाशमै ‘होल्ड’मा राखिएका छन्। आन्तरिक उडानतर्फ पनि यात्रुका योजना प्रभावित बनेका छन्। बुद्ध एयरका अनुसार विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटारतर्फका उडानहरू पूर्ण रूपमा रोकिएका छन्। विमानस्थलको प्रतीक्षालयमा बिहानैदेखि यात्रुहरू सूचनाको पर्खाइमा देखिन्छन्।
हिउँद याममा काठमाडौंमा देखिने कुहिरो नयाँ होइन। तर, अन्तर्राष्ट्रिय उडानसम्मै प्रभावित हुने गरी आएको यस पटकको हुस्सुले नेपालको उड्डयन पूर्वाधार र वैकल्पिक प्रविधिमाथि फेरि प्रश्न उठाएको छ।
विमानस्थल कार्यालयले मौसम सुधार नहुँदासम्म उडान सञ्चालन सम्भव नहुने स्पष्ट पारेको छ। यात्रुहरूलाई विमानस्थल पुग्नुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।
आकाश खुल्ने पर्खाइमा अहिले जहाज, यात्रु र विमानस्थल रोकिएका छन्।
