जीपीडब्लुएस अलर्टपछि ढाका मोडिएको टर्किस विमान पुनः काठमाडौं अवतरण
काठमाडौँ । इस्ट्यानबुलबाट काठमाडौँका लागि उडेको टर्किस एअरलाइन्सको विमान जीपीडब्लुएस (ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम) अलर्ट देखिएपछि बंगलादेशको ढाका तर्फ डाइभर्ट गरिएको थियो। प्राविधिक परीक्षणपछि विमान पुनः काठमाडौँ फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का अनुसार टीके–७२६ कलसाइन भएको उक्त उडान अवतरणको तयारीमा रहँदा ककपिटमा जीपीडब्लुएस वार्निङ देखिएको थियो। सुरक्षालाई प्राथमिकतामा राख्दै चालकदलले वैकल्पिक गन्तव्य रोजेका थिए।
विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले कहिलेकाहीँ भू–आकृति, डाँडा वा अन्य अवरोध नजिक आएको संकेत प्रणालीले गलत अलर्ट दिन सक्ने बताए। “सावधानी अपनाउँदै थप प्राविधिक जाँचका लागि ढाका लगिएको हो,” उनले भने, “त्यहाँ परीक्षणपछि सबै प्रणाली सामान्य अवस्थामा रहेको पुष्टि भएपछि जहाज काठमाडौँ फर्किएको छ।”
जीपीडब्लुएस विमानको महत्त्वपूर्ण सुरक्षा प्रणाली हो, जसले जमिन वा अवरोधसँगको दूरी जोखिमपूर्ण देखिएमा अडियो र दृश्य संकेतमार्फत पाइलटलाई सचेत गराउँछ। यस प्रणालीले सम्भावित ‘कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन’ जस्ता दुर्घटना टार्न सहयोग पुर्याउँछ।
उक्त घटनापछि उडान तालिकामा सामान्य असर परे पनि यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ। विमान कम्पनीले सुरक्षा मापदण्डअनुसार आवश्यक प्रक्रिया पूरा गरी सेवा निरन्तरता दिएको जनाएको छ।
