रङ र उत्साहबीच उपत्यकामा होलीको रौनक
काठमाडौं । फागुपूर्णिमाका अवसरमा आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा होली पर्व उल्लासमय वातावरणमा मनाइएको छ। बिहानैदेखि युवायुवती, बालबालिका र परिवारजन घरआँगन तथा सार्वजनिक स्थलमा भेला भएर एकअर्कामा रङ र अबिर लगाउँदै रमाएका छन्।
उपत्यकाको वसन्तपुर दरबार क्षेत्र, टुँडिखेल, ठमेल र दरबारमार्ग क्षेत्रमा विशेष चहलपहल देखिएको थियो। संगीतको तालमा नाचगान, रङको वर्षा र सामूहिक उत्सवले ती क्षेत्र दिनभरि रंगीन बने।
परम्पराअनुसार फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाड र हिमालमा होली मनाइन्छ भने भोलिपल्ट तराई तथा भित्री मधेशमा हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ।
सत्यले असत्यलाई पराजित गरेको प्रतीकका रूपमा लिइने होलीले समाजमा मेलमिलाप, सहिष्णुता र सद्भावको सन्देश दिन्छ। यस अवसरमा विगतका तिक्तता बिर्सेर आपसी सम्बन्ध सुदृढ गर्ने, आत्मीयता साटासाट गर्ने र खुसी बाँड्ने परम्परा रहँदै आएको छ।
