दाइँ महोत्सवले देखायो पोखराको ग्रामीण पर्यटन
पोखरा — हिमालको मनोरम दृश्य, धानका फाँट र स्थानीय कृषि संस्कृतिको प्रत्यक्ष अनुभव गर्न पाउँदा पोखराको नौबिसे सिसुवामा आयोजित ‘दाइँ महोत्सव’ पर्यटकका लागि नयाँ आकर्षण बनेको छ। किसानको खेतमा हुने परम्परागत दाइँलाई उत्सवको रूप दिइएपछि स्वदेशी तथा विदेशी पर्यटक पनि कृषि संस्कृतिसँग प्रत्यक्ष जोडिएका छन्।
पोखरा महानगरपालिका–२९, नौबिसे सिसुवा तालचोकका खेतमा धान भित्र्याउने चटारो चलिरहेका बेला पोखरा पर्यटन परिषद्को आयोजनामा महोत्सव आयोजना गरिएको हो। माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको पृष्ठभूमिमा भएको महोत्सवले गाउँको परम्परागत जीवनशैलीलाई पर्यटकीय गतिविधिसँग जोडेको छ।
महोत्सवमा परम्परागत रूपमा गोरु लगाएर धानको दाइँ गर्ने अभ्यासलाई प्रदर्शन गरिएको थियो। खलोको बीचमा गाडिएको मियो वरिपरि आठवटा गोरु नारेर दाइँ गरिएको दृश्यले पुरानो कृषि प्रणालीको झल्को दिएको थियो।
पर्यटकहरू पनि दर्शकमा मात्र सीमित रहेनन्। उनीहरूले किसानसँगै खेतमा पुगेर धानका मुठा समाउने, झाँट्ने तथा पराल र छरिएको धान संकलन गर्ने काममा सहभागिता जनाए। यसले गाउँको कृषि जीवन र पर्यटकबीच प्रत्यक्ष अन्तरक्रियाको अवसर सिर्जना गर्यो।
स्थानीय महिलाहरू परम्परागत पोसाकमा सहभागी हुँदा महोत्सवको सांस्कृतिक पक्ष थप आकर्षक देखिएको थियो। स्वदेशी तथा विदेशी पाहुनाले निधारमा टीका र गलामा सयपत्रीको माला लगाएर स्थानीयसँगै दाइँमा सहभागी भएका थिए।
पोखरालाई सामान्यतया ताल, हिमाल र साहसिक पर्यटनका लागि चिनिए पनि यस्ता कार्यक्रमले यहाँको कृषि, संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने सम्भावना देखाएका छन्। पर्यटकलाई गाउँको वास्तविक जीवन, स्थानीय श्रम र मौलिक परम्परासँग जोड्ने भएकाले दाइँ महोत्सवले ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कृषि उत्पादनसँग जोडिएका यस्ता मौलिक गतिविधिलाई नियमित पर्यटकीय कार्यक्रमका रूपमा विकास गर्न सके पोखरा आसपासका ग्रामीण क्षेत्रले पर्यटनबाट थप लाभ लिन सक्ने देखिन्छ। विशेषगरी धान रोपाइँ, दाइँ, स्थानीय खानपान, लोकसंस्कृति र ग्रामीण जीवनशैलीलाई एकीकृत गरेर कृषि पर्यटनको प्याकेज बनाउन सकिने सम्भावना यस महोत्सवले देखाएको छ।
महोत्सवमा देखिएको किसान र पर्यटकबीचको आत्मीय सहभागिताले कृषि श्रमलाई मनोरञ्जन मात्र नभई स्थानीय संस्कृति र पर्यटनबीचको सेतुका रूपमा प्रस्तुत गरेको छ।
