हुम्ला। मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको सिमकोट हुँदै चीनतर्फ जाने भारतीय तीर्थयात्रीको आगमन बढ्न थालेको छ। सिजन सुरु भएको चार दिनमै १६९ जना तीर्थयात्री सिमकोट पुगेका छन्।
नेपालगन्ज–सिमकोट हवाईमार्ग प्रयोग गरेर हिल्सा नाका हुँदै कैलाश मानसरोवर पुग्ने यात्रु आउने क्रम बढिरहेको सिमकोट विमानस्थलले जनाएको छ। विमानस्थल प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि सुरु भएको यात्रामा हालसम्म १४७ भारतीय र २२ विदेशी नागरिक सिमकोट आइपुगेका हुन्।
मौसम प्रतिकूल रहे पनि शनिबार समिट एयरले तीन उडान सञ्चालन गरेको थियो। ती उडानमार्फत मात्रै ४७ जना तीर्थयात्री सिमकोट पुगेका थिए।
तर, तीमध्ये २३ भारतीय यात्रु आवश्यक परमिट नआएका कारण सिमकोटमै रोकिएका छन्। सरकारले गत चैत २१ गतेको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिएपछि सम्बन्धित निकायबाट अनुमति पत्र आउन ढिलाइ भएको बताइएको छ।
यस वर्षको सुरुवाती अवस्थामै तीर्थयात्रीको संख्या उत्साहजनक देखिएकाले आगामी दिनमा अझ बढ्ने अपेक्षा गरिएको छ।
२०७२ सालको भूकम्पपछि हिल्सा नाका हुँदै भारतीय तीर्थयात्रीले मानसरोवर यात्रा गर्न थालेका थिए। पछि कोरोना महामारीका कारण नाका बन्द हुँदा यात्रा रोकिएको थियो।
गत वर्ष चीनले पुनः हिल्सा नाका भएर भारतीय पर्यटकलाई मानसरोवर यात्रा गर्न अनुमति दिएपछि चार महिनाको अवधिमा करिब ६ हजार ५०० भारतीय तीर्थयात्रीले यात्रा गरेका थिए। यस वर्ष भने वैशाख ३० गतेबाट यात्रु आगमन सुरु भएको हो।