पुँजी बजार सुधारको नयाँ मार्गचित्र : लगानीकर्तालाई विविध अवसर, पारदर्शी बजार निर्माण
डा. गोपाल भट्ट
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी र विविधीकरणयुक्त बनाउने लक्ष्यसहित व्यापक सुधार योजना अघि सारेको छ। पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी लगानीकर्ताका लागि नयाँ वित्तीय उपकरण र अवसर उपलब्ध गराइनेछ। यसका लागि अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी दीर्घकालीन मार्गचित्र तयार गरिएको छ।
हाल धितोपत्र बजार घट्दा नियामक निकायमाथि प्रश्न उठ्ने र बढ्दा पनि आलोचना हुने अवस्था छ । तर बजार सधैं उकालो लाग्नुपर्छ भन्ने सोच परिवर्तन गर्न आवश्यक छ । बजारको उतारचढाव स्वाभाविक प्रक्रिया भएकाले लगानीकर्ताले जोखिम र अवसर दुवैलाई बुझ्नुपर्ने हुन्छ ।
बोर्डले लगानीकर्तालाई बजारको अवस्थाअनुसार नाफा कमाउने विकल्प उपलब्ध गराउने तयारी गरेको छ। अहिले प्रचलनमा रहेको मार्जिन बाइङसँगै आगामी तीन महिनाभित्र सर्ट सेलिङको व्यवस्था लागू गर्ने लक्ष्य राखिएको छ। यसबाट बजार घट्ने अवस्थामा पनि विश्लेषणका आधारमा लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्नेछन्।
सर्ट सेलिङ लागू भएपछि लगानीकर्ताले भविष्यमा मूल्य घट्ने अनुमानका आधारमा सेयर सापटी लिएर बिक्री गर्न र पछि कम मूल्यमा खरिद गरी नाफा लिन सक्ने व्यवस्था हुनेछ। यसले बजारमा एकपक्षीय सोच अन्त्य गरी स्वस्थ प्रतिस्पर्धा र सन्तुलित लगानी संस्कृतिको विकासमा सहयोग पुग्ने बोर्डको विश्वास छ।
पुँजी बजारमा सरकार वा नियामक निकायको भूमिका निष्पक्ष वातावरण तयार गर्नु मात्र रहेको अध्यक्ष भट्टले स्पष्ट पारे। उनका अनुसार लगानी गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा लगानीकर्ताको अध्ययन, विश्लेषण र जोखिम मूल्याङ्कनमा आधारित हुनुपर्छ।
प्रि–आइपीओका नाममा हुने अनधिकृत कारोबारलाई बोर्डले गैरकानुनी गतिविधि भन्दै त्यस्ता कार्यमा संलग्नमाथि कानुनी कारबाही गरिनेछ। आइपीओ निष्कासनका लागि योग्य, पारदर्शी र सुशासित कम्पनीलाई मात्र बजारमा प्रवेश गराउने नीति पनि अघि सारिएको छ।
बोर्डले स्टार्टअप, साना तथा मझौला उद्योग (एसएमई) र योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय स्रोत जुटाउन सक्ने वातावरण निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। साथै, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता थप प्रभावकारी बनाइनेछ।
पुँजी बजारलाई सेयर केन्द्रित संरचनाबाट बाहिर ल्याउँदै ऋणपत्र बजार, डेरिभेटिभ उपकरण र कमोडिटी फ्युचर्स बजारको विकासमा समेत काम भइरहेको छ। कमोडिटी फ्युचर्स सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था तयार भइसकेको छ।
धितोपत्र बोर्डभित्र शून्य सहनशीलताको नीति लागू गर्दै आइपीओ स्वीकृति, बुक बिल्डिङ निर्देशिका र धितोपत्र निष्कासनसम्बन्धी विद्यमान नियमावली पुनरावलोकन गरिनेछ। सबै नियामकीय प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता छ।
लगानीकर्ता शिक्षालाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्ने योजना पनि छ। उच्च जोखिमयुक्त वित्तीय उपकरणमा लगानी गर्नुअघि लगानीकर्ताले जोखिम, प्रतिफल र सम्भावित क्षतिबारे पर्याप्त जानकारी हासिल गर्नुपर्नेमा जोड दिएको छ।
सूचना प्रविधिमा आधारित आधुनिक नियामकीय प्रणाली विकासका लागि बोर्डको आफ्नै भवन तथा आवश्यक पूर्वाधार निर्माण गर्ने प्रक्रिया यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसले फिनटेक तथा डिजिटल पूर्वाधार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, ब्रोकर कम्पनी तथा बोर्डले नियमन गर्ने अन्य संस्थाको निरीक्षण र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाइने छ। कार्यसम्पादन मूल्याङ्कन, रिपोर्टिङ प्रणाली र सूचना प्रविधिको नियमित अनुगमनमार्फत बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउने बोर्डको योजना रहेको छ।
गैरआवासीय नेपाली (एनआरएन), प्राइभेट इक्विटी, म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाउन आवश्यक नियमावली तथा निर्देशिकामा संशोधन गरिने पनि बोर्डले जनाएको छ।
समग्रमा, नियामकीय सुधार, वित्तीय उपकरणको विविधीकरण र प्रविधिमैत्री पूर्वाधारमार्फत नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, पारदर्शी र लगानीकर्तामैत्री बनाउने दिशामा धितोपत्र बोर्ड अघि बढिरहेको छ। भट्ट नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन् ।
