पर्यटनसँग जोडिँदै रेडपाण्डा संरक्षण, म्याग्दीमा ‘क्यामेरा ट्र्यापिङ’ अभियान सुरु
म्याग्दी । हिमाली जैविक विविधताको महत्वपूर्ण आकर्षण मानिने दुर्लभ रेडपाण्डा (हाब्रे) को अवस्था अध्ययन गर्दै पर्यावरणीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्दीको धौलागिरि क्षेत्रमा क्यामेरा ट्र्यापिङ अभियान सुरु गरिएको छ।
धौलागिरि गाउँपालिका अन्तर्गत पर्ने जलजला क्षेत्र र ढोरपाटन शिकार आरक्षण आसपासका वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेर रेडपाण्डाको गतिविधि निगरानी थालिएको हो।
जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) ले अन्तर्राष्ट्रिय दातृ संस्था टोलेडोजुको सहयोगमा यो कार्यक्रम सञ्चालन गरेको हो। संरक्षणसँगै वन्यजन्तुमा आधारित पर्यटनको सम्भावना उजागर गर्ने लक्ष्य पनि अभियानको रहेको जनाइएको छ।
बायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार रेडपाण्डा आवतजावत गर्ने सम्भावित स्थान तथा दिसा भेटिएका क्षेत्रमा १२ वटा क्यामेरा राखिएको छ। क्यामेरामा कैद हुने तस्बिर र भिडियोले रेडपाण्डाको संख्या, गतिविधि र बासस्थानको अवस्थाबारे जानकारी दिन सहयोग पुग्ने उनले बताए।
उनका अनुसार अध्ययन टोलीले रेडपाण्डाको स्वास्थ्य अवस्थाबारे पनि अनुसन्धान गरिरहेको छ। विशेषगरी पेट तथा आन्द्रामा हुने परजीवीको अवस्थाबारे बुझ्न दिसा परीक्षणसमेत भइरहेको छ।
समुद्री सतहदेखि करिब २२०० देखि ४५०० मिटर उचाइसम्म पाइने रेडपाण्डा नेपालका दुर्लभ तथा संकटापन्न वन्यजन्तुमध्ये एक हो। यसको उपस्थितिले हिमाली क्षेत्रको पर्यावरणीय महत्त्व मात्र होइन, प्रकृतिमा आधारित पर्यटनको सम्भावना पनि बढाउने विज्ञहरू बताउँछन्।
यसअघि जलजला क्षेत्रमा जडान गरिएका तीन क्यामेरामध्ये दुईवटामा रेडपाण्डा कैद भएको थियो। सो क्षेत्रमै ६ देखि २५ वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ।
पछिल्ला वर्षहरूमा स्थानीयवासीले ढोरपाटन र मुना क्षेत्रका जंगलमा रेडपाण्डा देखिएका तस्बिर तथा भिडियो सार्वजनिक गरेपछि यस क्षेत्रमा अनुसन्धान र संरक्षण गतिविधि थप सक्रिय बनेका हुन्।
विसं २०७३ मा पनि रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा रेडपाण्डाको दिसा फेला पारेका थिए। त्यसयता यो क्षेत्र रेडपाण्डाको सम्भावित सुरक्षित बासस्थानका रूपमा हेरिन थालेको छ।
निगालो, पालिङ्गो र पुराना रुख प्रशस्त पाइने गूर्जा, लुलाङ र मुना आसपासका जंगल रेडपाण्डाका लागि उपयुक्त मानिन्छन्। रातको समयमा रुखको खोँचमा बस्ने र दिनको समयमा हाँगामा आराम गर्ने रेडपाण्डा आहारा खोज्न बेला–बेला जमिनमा झर्ने गर्छ।
वन्यजन्तु संरक्षणसँगै यस्ता दुर्लभ प्रजातिलाई केन्द्रमा राखेर ‘वाइल्ड लाइफ टुरिजम’ विकास गर्न सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ। रेडपाण्डा अवलोकन, हिमाली पदयात्रा र जैविक विविधता अध्ययनलाई जोडेर म्याग्दी र धौलागिरि क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।
नेपालमा करिब ५०० देखि १००० को संख्यामा मात्र रेडपाण्डा रहेको अनुमान छ। नेपालसहित चीन, भारत, भुटान र म्यानमारमा पाइने यो प्रजाति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित सूचीमा राखिएको छ।
रेडपाण्डाको चोरी सिकार वा अवैध कारोबारमा संलग्नलाई एकदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
