ग्यास अनुगमनप्रति होटल व्यवसायीको आपत्ति, ‘अव्यावहारिक निर्देशनले सेवा प्रभावित हुन्छ’
काठमाडौं । पाँचतारे होटलमा खाना पकाउने ग्यासको मौज्दातलाई लिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सार्वजनिक टिप्पणी आएपछि होटल व्यवसायीले आपत्ति जनाएका छन्। होटल एसोसिएसन नेपाल (हान) ले ग्यासको मौज्दातलाई कालोबजारीसँग जोडेर प्रचार गर्दा होटल उद्योग र नेपालको पर्यटन छविमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।
हानका अनुसार होटलमा मौज्दात राखिएको एलपी ग्यास पाहुनाको संख्या, बुकिङ, खाद्य परिकारको प्रकार तथा दैनिक मागअनुसार आवश्यक पर्ने भएकाले नियमित व्यावसायिक सञ्चालनकै हिस्सा हो। होटलमा ठूलो संख्यामा कर्मचारी कार्यरत हुने र स्वदेशी तथा विदेशी पाहुनाका लागि बिहानको खाना, दिवा तथा रात्रिभोजलगायत सेवा उपलब्ध गराउनुपर्ने भएकाले अन्य व्यवसायको तुलनामा ग्यासको खपत स्वाभाविक रूपमा बढी हुने संघको भनाइ छ।
होटलहरूमा विवाह, सम्मेलन, गोष्ठी, भोज तथा अन्य ठूला कार्यक्रम नियमित आयोजना हुने भएकाले मागअनुसार केही मात्रामा ग्यास मौज्दात राख्नुपर्ने व्यवसायीको तर्क छ। यस्तो मौज्दातलाई नाफाका लागि ग्यास बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधिका रूपमा बुझ्न नहुने हानले स्पष्ट पारेको छ।
संघले सरकारी नीति तथा नियम पालना गरेर सञ्चालन भइरहेका होटलमा अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित नगरी अनुगमनका नाममा अव्यावहारिक निर्देशन दिइए सेवा प्रवाह प्रभावित हुने चेतावनी दिएको छ। विशेषगरी अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित होटल सेवामा आवश्यक पूर्वाधार र इन्धनको निरन्तर आपूर्ति महत्वपूर्ण हुने उसको भनाइ छ।
‘होटलको नाम सार्वजनिक गर्दा पर्यटन छविमा असर’
सरकारी अनुगमनका क्रममा देखिएका विषयलाई होटलको नामै तोकेर सार्वजनिक गर्दा सम्बन्धित व्यवसाय मात्र नभई नेपालको समग्र पर्यटन क्षेत्रको प्रतिष्ठामा समेत असर पर्न सक्ने हानले जनाएको छ।
अन्तर्राष्ट्रिय पर्यटकले नेपालको आतिथ्य सेवा र होटल उद्योगलाई सुरक्षित, भरपर्दो र व्यावसायिक गन्तव्यका रूपमा बुझ्नुपर्ने अवस्थामा सरकारी निकायबाट हुने सार्वजनिक आरोप–प्रत्यारोपले नकारात्मक सन्देश जान सक्ने संघको तर्क छ।
हानले होटल तथा आतिथ्य क्षेत्रको अनुगमन गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित सम्बन्धित सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताएको छ। पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा पर्यटन मन्त्रालयको जानकारी र सहकार्यमा अनुगमन प्रक्रिया अघि बढाउनुपर्ने उसको माग छ।
‘तथ्य र प्राविधिक पक्ष बुझेर अनुगमन गरियोस्’
ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा सामान्य घरायसी भान्साभन्दा फरक र ठूलो क्षमताका हुने भएकाले त्यहाँको ग्यास खपत र भण्डारण प्रणाली बुझेर मात्र अनुगमन गर्नुपर्ने हानको भनाइ छ।
संघले सरकारी अनुगमनलाई आफूहरू विरोध नगर्ने स्पष्ट पार्दै त्यसलाई तथ्यमा आधारित, मर्यादित र समन्वयात्मक बनाउन आग्रह गरेको छ। अनुगमनका क्रममा उठेका विषयलाई एकतर्फी रूपमा सार्वजनिक गर्दा होटल व्यवसायीको प्रतिष्ठासँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छविमा समेत असर पर्न सक्ने भएकाले संवेदनशीलता अपनाउन संघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
हानले होटल उद्योगसँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालय, विभाग, अन्य सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको जनाएको छ।
संघका अनुसार होटलमा राखिने एलपी ग्यास बिक्री वा कालोबजारीका लागि नभई पाहुनालाई खाद्य तथा आतिथ्य सेवा उपलब्ध गराउने व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने भएकाले यसलाई सोही सन्दर्भमा बुझिनुपर्छ। राज्यलाई आवश्यक परेको अवस्थामा विगतमा जस्तै सहजीकरण र सहयोग गर्न होटल क्षेत्र तयार रहेको पनि हानले जनाएको छ।
