निर्वाचनलाई भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन
टुरिजमफेस
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उनले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना सङ्कलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी अझ क्रियाशील भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि कार्यस्थलमा खटिने कर्मचारीलाई परिस्थितिअनुरुप आफूलाई ढाल्न अनुरोध गरे ।
