देशभर श्रद्धा र उत्साहका साथ श्रीपञ्चमी मनाइँदै, हनुमानढोकामा वसन्त श्रवण
काठमाडौँ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी आज देशभर श्रीपञ्चमी (वसन्त पञ्चमी) श्रद्धा र भक्ति भावका साथ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा सरस्वती मन्दिरहरूमा भक्तजनको उल्लेख्य भीड देखिएको छ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सिर्जनात्मक क्षमता अभिवृद्धि हुने धार्मिक विश्वास रहँदै आएको छ। यही मान्यताअनुसार आज विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ। आजको दिन पढाइ सुरु गरे राम्रो विद्या प्राप्त हुने जनविश्वास छ।
चन्द्रमाजस्तै उज्यालो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी र बुद्धिदात्रीलगायत विभिन्न नामले स्मरण गरिन्छ। विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानी पूजा गर्ने परम्परा छ।
सूर्य उत्तरायणतर्फ लाग्दै दिन लम्बिन सुरु हुने र वसन्त ऋतु प्रवेश गर्ने विश्वासका कारण यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ। धार्मिक ग्रन्थहरूमा आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरे ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख पाइन्छ।
यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता कार्यका लागि साइत नहेर्नु पर्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त रहेकाले यस्ता शुभकर्म भने नगर्ने जनाइएको छ। बालबालिकालाई शिक्षा आरम्भ गराउने, नाक–कान छेड्ने चलन भने कायमै छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरूमा आज बिहानैदेखि भक्तजन, विशेषगरी विद्यार्थीहरूको घुइँचो लागेको छ।
हनुमानढोकामा वसन्त श्रवण
श्रीपञ्चमीकै अवसरमा हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने परम्परा अनुसार शुक्रबार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संघीय संसद् तथा प्रदेशसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यक्रमका सबै तयारी पूरा भइसकेको कार्यालयले जानकारी दिएको छ।
