भारतीय नागरिकका लागि बंगलादेशमा पर्यटक भिसा सुरु
ढाका । बङ्गलादेशले भारतस्थित आफ्ना कूटनीतिक नियोगमार्फत भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा पुनः नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। विदेश मन्त्रालयका एक अधिकारीका अनुसार सोमबारदेखि यो सेवा पूर्ण रूपमा खुला गरिनेछ।
सुरक्षा संवेदनशीलता औंल्याउँदै केही समयअघि भारत मा रहेका बङ्गलादेशी उच्चायोग तथा कन्सुलर कार्यालयहरूबाट पर्यटक भिसा सेवा सीमित गरिएको थियो। यद्यपि अत्यावश्यक अवस्थाका आवेदनहरू भने जारी राखिएको थियो। नयाँदिल्लीस्थित उच्चायोगका साथै गुवाहाटी, अगरतला, मुम्बई र कोलकातामा रहेका नियोगहरूले अन्य श्रेणीका अधिकांश भिसा सेवा भने निरन्तर प्रदान गर्दै आएका थिए।
फेब्रुअरी १२ मा सम्पन्न राष्ट्रिय निर्वाचनपछि समग्र सुरक्षा र प्रशासनिक अवस्था सुधारिएको निष्कर्ष निकाल्दै सेवा पुनः विस्तार गर्ने निर्णय गरिएको अधिकारीले बताए। निर्वाचनको पूर्वसन्ध्यामा जनवरी १५ देखि फेब्रुअरी १५ सम्म पर्यटक भिसा अस्थायी रूपमा स्थगित गरिएको थियो। समीक्षा प्रक्रियापछि अब सबै प्रकारका भिसा सेवा नियमित ढंगले सञ्चालनमा ल्याइएको जनाइएको छ।
यद्यपि बङ्गलादेशी नागरिकका लागि भारतीय पर्यटक भिसा सेवा भने अझै पूर्ण रूपमा खुला भइसकेको छैन। केही सीमित श्रेणीका भिसा मात्र जारी भइरहेका छन्।
प्राध्यापक मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारको अवधिमा दुई देशबीच सम्बन्धमा केही तनाव देखिएको थियो। तर फेब्रुअरी १२ को निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमान ले नेतृत्व सम्हालेसँगै द्विपक्षीय सम्बन्ध सुधारतर्फ अग्रसर हुने संकेत देखिएको छ।
नयाँ मन्त्रिपरिषद्को शपथ समारोहमा भारतीय लोकसभाका सभामुख ओम बिरला नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई पनि दुई देशबीच विश्वास पुनःस्थापनाको संकेतका रूपमा हेरिएको छ। पछिल्लो निर्णयले आवागमन र जनस्तरको सम्बन्ध थप सहज बन्ने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा
