काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले सोमबार बसेको उच्चस्तरीय बैठकपछि यस्तो निर्णय सार्वजनिक गरेको हो।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको दुर्घटनामा १९ जनाको ज्यान गएको थियो। घटनाको प्रकृति गम्भीर रहेकाले विस्तृत अनुसन्धान आवश्यक ठहर गर्दै समिति गठन प्रक्रिया अघि बढाइएको मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिएकी छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घका प्रतिनिधि तथा तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए। बैठकले दुर्घटनाको कारण, जिम्मेवारी र आगामी सुरक्षा उपायबारे सिफारिस गर्ने गरी छानबिन समिति गठन गर्ने सहमति गरेको हो।
समितिको नेतृत्व कसले गर्ने र कति सदस्यीय बनाउने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खस्दा उक्त दुर्घटना भएको थियो। घटनापछि स्थानीय प्रशासनले उद्धार तथा राहत कार्य तीव्र बनाएको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।