फेक रेस्क्यु काण्डमा थप दुई पक्राउ, पर्यटन क्षेत्रका प्रभावशाली व्यक्तिसमेत अनुसन्धानको घेरामा
काठमाडौं— पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नाममा ‘नक्कली उद्धार’ देखाएर बिमा रकम असुली गरेको आरोपमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनी का सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको जनाएको छ। तिवारीलाई मंगलबार र सिंहलाई बुधबार बिहान नियन्त्रणमा लिइएको सिआइबी स्रोतले पुष्टि गरेको छ।
यससँगै फेक रेस्क्यु प्रकरणमा पक्राउ पर्नेहरूको संख्या ९ पुगेको छ। यसअघि ट्रेकिङ कम्पनी, रेस्क्यु सेवा प्रदायक, हेलिकप्टर कम्पनीका सञ्चालक तथा अस्पतालसँग आबद्ध व्यक्तिहरू अनुसन्धानको दायरामा परिसकेका छन्।
माघ २५ गते सिआइबीले श्रिद्धी अस्पताल का सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरेको थियो। उनीहरूमाथि राष्ट्रहित प्रतिकूल कार्य तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सिआइबीका अनुसार माघ ११ गते विदेशी पर्वतारोहीहरूलाई योजनाबद्ध रूपमा बिरामी देखाई हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पताल भर्ना गराउने र त्यसपछि बिमा दाबी गर्ने गिरोह सक्रिय रहेको सूचना प्राप्त भएको थियो। त्यसपछि सुरु गरिएको अनुसन्धानका क्रममा ६ जना यसअघि नै पक्राउ परिसकेका थिए।
प्रहरीले माउन्टेन रेस्क्यू सर्भिस प्रालि, नेपाल चार्टर्ड सर्भिस र एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालि का सञ्चालक तथा व्यवस्थापकहरूलाई पनि नियन्त्रणमा लिएको छ।
२०७५ सालमै पर्यटन मन्त्रालयले यस विषयमा अध्ययन गर्न कार्यदल गठन गरी प्रतिवेदन तयार पारेको थियो। सो प्रतिवेदन प्रहरीलाई उपलब्ध गराइएको र त्यसकै आधारमा थप अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।
पछिल्लो समय असोज महिनामा पुनः नक्कली उद्धार भइरहेको उजुरी परेपछि अनुसन्धानलाई तीव्र बनाइएको थियो। छानबिनका क्रममा माउन्टेन रेस्क्यू सर्भिसले गरेको १२४८ उद्धारमध्ये १७१ वटा नक्कली देखिएको छ। नेपाल चार्टर्ड सर्भिसका ४७१ मध्ये ७५ र एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्सका ६०१ मध्ये ७१ वटा उद्धार शंकास्पद फेला परेका छन्।
अनुसन्धानबाट ती कम्पनीहरूले करिब १ करोड ९६ लाख ९० हजार अमेरिकी डलर (झन्डै २ अर्ब ८७ करोड रुपैयाँ) बराबरको बिमा दाबी गरेको खुलेको छ।
यो प्रकरणले नेपालको साहसिक पर्यटन क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ भने अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। प्रहरीले अनुसन्धान अझै जारी रहेको जनाएको छ।
