टी–२० विश्वकप २०२६ : ‘एसोसिएट टिम अफ दि टुर्नामेन्ट’मा नेपालका दीपेन्द्रसिंह ऐरी अटाए
काठमाडौं ।सन् २०२६ को टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले उल्लेखनीय प्रदर्शन गर्दै स्थापित टोलीहरूलाई कडा चुनौती दिए। यद्यपि उनीहरू सुपर–८ चरणसम्म पुग्न सकेनन्।
प्रतियोगितामा उत्कृष्ट प्रभाव छाड्ने एसोसिएट खेलाडीहरू समेटेर चर्चिव वेवपोर्टल इएसपिएन क्रिकइन्फोले ‘एसोसिएट टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। उक्त टोलीमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि परेका छन्।
ऐरीको सशक्त प्रदर्शन
नेपालले इंग्ल्याण्डलाई दबाबमा राखेको खेलमा ऐरीले २९ बलमा ४४ रन बनाउनुका साथै २ विकेट लिए। वेस्ट इन्डिजविरुद्ध उनले ५८ रनको योगदान दिए भने स्कटल्याण्डसँगको खेलमा २३ बलमा ५० रनको विस्फोटक अर्धशतक प्रहार गर्दै जित दिलाउन महत्वपूर्ण भूमिका खेले। प्रतियोगिताभरि उनी नेपालको सबैभन्दा भरपर्दो खेलाडीका रूपमा देखिए।
अन्य छनोट खेलाडीहरू
-
युवराज सामरा (क्यानडा) – न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट ब्याटर बने।
-
सायन जहाँगिर (अमेरिका, विकेटकिपर) – पाकिस्तानविरुद्ध ४९ रनको जुझारु पारी खेले।
-
बास डी लिडे (नेदरल्याण्ड्स) – अलराउन्ड प्रदर्शन गर्दै पाकिस्तान र भारतविरुद्ध प्रभावशाली खेले।
-
जेरार्ड इरास्मस (नामिबिया, कप्तान) – किफायती बलिङ गर्दै ७ विकेट हात पारे।
-
शुभम रञ्जने (अमेरिका) – भारत र पाकिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक।
-
बेन मानेन्टी (इटाली) – नेपालविरुद्ध उत्कृष्ट बलिङ, साथै आक्रामक ब्याटिङ।
-
माइकल लिस्क (स्कटल्याण्ड) – इटालीविरुद्ध अन्तिम ओभरमा विस्फोटक ब्याटिङ र ४ विकेट।
-
शाड्ली भान शाल्क्विक (अमेरिका) – भारत र पाकिस्तानविरुद्ध समान ४–४ विकेट।
-
आर्यन दत्त (नेदरल्याण्ड्स) – शीर्षक्रमका ब्याटरहरूलाई निरन्तर दबाबमा राखे।
-
क्रिशन कालुगामागे (इटाली) – नेपालविरुद्ध ३ विकेटसहित प्रभावशाली स्पिन बलिङ।
१२औँ खेलाडीका रूपमा स्कटल्याण्डका माइकल जोन्सलाई समावेश गरिएको छ।
एसोसिएट राष्ट्रका खेलाडीहरूले विश्वकपमा देखाएको प्रतिस्पर्धात्मक स्तरले अन्तर्राष्ट्रिय क्रिकेटमा उनीहरूको उपस्थिति अझ मजबुत बन्दै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
