होली पर्वमा राजनीतिक प्रतीक प्रयोग नगर्न र घरभित्रै मनाउन आग्रह
टुरिजमफेस
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।
कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी-सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ । होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।
सूचनामा कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो-हल्ला तथा अराजक गतिविधि गर्ने काम कानुनविपरीत हुने उल्लेख गरिएको छ ।
