विमानस्थल आउनुअघि जानकारी लिन निगमको आग्रह
काठमाडौँ । इरान–इजरायल र अमेरिकाबीच बढ्दो सैन्य तनावका कारण मध्यपूर्वको आकाश असुरक्षित बनेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्ना केही अन्तर्राष्ट्रिय उडान अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। युद्धग्रस्त क्षेत्रको हवाई मार्गमा मिसाइल तथा ड्रोन आक्रमणको जोखिम बढेपछि यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै दोहा, दुबई र दमाम गन्तव्यका उडान स्थगित गरिएको निगमले जनाएको छ।
मंगलबार जारी प्रेस विज्ञप्तिमा निगमले दोहा उडान रद्द गरिएको विषयमा थप प्रष्ट्याएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिकामा समय देखिए पनि सुरक्षा तथा प्राविधिक कारणले ती उडानहरू हाल सञ्चालनमा नरहेको उल्लेख गरिएको छ।
विमानस्थलको सूचनाबाट यात्रुमा पर्न सक्ने अन्योल हटाउन निगमले अग्रसरता लिँदै यात्रुहरूलाई स्पष्ट निर्देशन दिएको छ। निगमले जारी सूचनामा भनेको छ, “मध्यपूर्वका दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे निगमको आधिकारिक सूचना वा तोकिएको सम्पर्क नम्बरमार्फत पुष्टि गरेर मात्र विमानस्थल आउनुहोला।”
गत शनिबारदेखि इरान र अमेरिका–इजरायलबीच सुरु भएको द्वन्द्वका कारण मध्यपूर्वी हवाई रुटमा व्यापक प्रभाव परेको छ। कतिपय अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो रुट परिवर्तन गरेका छन् भने केहीले उडान नै रद्द गरेका छन्। यस्तो संवेदनशील अवस्थामा निगमको निर्णयलाई उड्डयन क्षेत्रका विज्ञहरूले सावधानीपूर्ण र जिम्मेवार कदमका रूपमा लिएका छन्।
निगमका अनुसार यात्रुको सुरक्षालाई सर्वोपरि राख्दै निरन्तर अद्यावधिक सूचना प्रवाह भइरहेको छ। क्षेत्रीय आकाश सुरक्षित भएको सुनिश्चित भएपछि मात्रै रोकिएका उडान पुनः सञ्चालन गरिने जनाइएको छ।
