इन्धन महँगिएपछि आन्तरिक हवाई भाडा वृद्धि, विभिन्न रुटमा नयाँ सरचार्ज लागू
टुरिजमफेस
काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य बढेपछि नेपालमा हवाई जहाजको भाडा समेत वृद्धि गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले इन्धन सरचार्ज समायोजन गर्दै विभिन्न रुटका लागि नयाँ भाडादर लागू गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार इन्धन सरचार्जका कारण विभिन्न गन्तव्यमा १ हजार ६ सय रूपैयाँदेखि ५ हजार ४ सय ८० रूपैयाँसम्म भाडा बढेको छ । सबैभन्दा बढी वृद्धि काठमाडौं–धनगढी रुटमा गरिएको छ, जहाँ इन्धन सरचार्ज मात्र ५ हजार ४ सय ८० रूपैयाँले बढाइएको छ ।
अन्य प्रमुख गन्तव्यहरूमा पनि सरचार्ज उल्लेखनीय रूपमा बढाइएको छ । सुर्खेत रुटमा ४ हजार २ सय ८५ रुपैयाँ, नेपालगञ्जमा ४ हजार ४५ रुपैयाँ, भद्रपुरमा ३ हजार ७ सय २५ रुपैयाँ, भैरहवामा २ हजार ५ सय ५५ रुपैयाँ, विराटनगरमा २ हजार ९ सय ८० रुपैयाँ, पोखरामा १ हजार ९ सय ७० रुपैयाँ तथा जनकपुरमा १ हजार ६ सय रुपैयाँ सरचार्ज निर्धारण गरिएको छ ।
नयाँ भाडादरको दायरा
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सञ्चालन हुने ट्रंक रुटमा अब न्यूनतम ३ हजार ३ सय ४४ रुपैयाँदेखि अधिकतम २३ हजार ५९ रूपैयाँसम्म भाडा लाग्नेछ । काठमाडौं–सिमरा रुटमा न्यूनतम भाडा कायम गरिएको छ भने काठमाडौं–धनगढी रुटमा सबैभन्दा उच्च भाडादर २३ हजार ५९ रूपैयाँसम्म तोकिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा नेपालमा आन्तरिक उडान सञ्चालन खर्च पनि बढेको छ ।
हवाई इन्धन कुल सञ्चालन खर्चको ठूलो हिस्सा हुने भएकाले मूल्यवृद्धिको सीधा असर यात्रु भाडामा परेको सरोकारवालाहरू बताउँछन् । नयाँ भाडादर लागू भएसँगै यात्रुले आन्तरिक उडानमा थप खर्च व्यहोर्नुपर्ने भएको छ भने वायुसेवा कम्पनीहरूले लागत व्यवस्थापनका लागि यो निर्णय आवश्यक भएको बताएको छ ।
