इन्धन महँगिएपछि आन्तरिक हवाई यात्रामा गिरावट, अन्तर्राष्ट्रिय उडानमा भने उत्साह
काठमाडौं । हवाई इन्धनको मूल्य आकस्मिक रूपमा बढेपछि त्यसको प्रत्यक्ष असर आन्तरिक हवाई यात्रामा देखिएको छ । टिकट दर महँगिएसँगै देशभित्र उडान गर्ने यात्रुको संख्या घटेको छ भने अन्तर्राष्ट्रिय उडानमा भने पर्यटकीय मौसमका कारण उल्लेख्य वृद्धि देखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार अप्रिल २०२६ मा आन्तरिक उडानतर्फ कुल ३ लाख १७ हजार ९ सय ५४ यात्रुले सेवा लिएका छन् । यो संख्या अघिल्लो महिना मार्चको तुलनामा कम हो । मार्चमा ३ लाख ३५ हजारभन्दा बढी यात्रुले आन्तरिक उडान गरेका थिए ।
वायुसेवा कम्पनीहरूका अनुसार पछिल्लो समय हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले भाडादर बढाउन बाध्य बनाएको छ । टिकट महँगिएपछि धेरै यात्रु स्थलमार्ग रोज्न थालेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार इन्धनको मूल्यवृद्धिले सञ्चालन खर्च बढाउँदा त्यसको असर यात्रुमा परेको हो ।
उनका अनुसार केही समययता परेको मलमास, पर्यटक आगमनमा कमी तथा आन्तरिक भ्रमण गतिविधि सुस्त हुँदा पनि यात्रु चाप घटेको हो । विशेषगरी छोटो दूरीका यात्रुहरू महँगो भाडाका कारण वैकल्पिक यातायाततर्फ आकर्षित भएका छन् ।
अप्रिल महिनामा काठमाडौंबाट १ लाख ६० हजार ६ सय १ यात्रु बाहिरिएका छन् भने १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौं भित्रिएका छन् । यस अवधिमा ४ हजार २ सयभन्दा बढी उडान र अवतरण भएका छन् ।
आन्तरिक वायुसेवा कम्पनीमध्ये बुद्ध एयरले सबैभन्दा धेरै यात्रु बोकेको छ । कम्पनीले एक महिनामा १ लाख ७२ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको तथ्यांक छ । दोस्रो स्थानमा रहेको यती एयरलाइन्सले ७१ हजारभन्दा बढी यात्रु बोकेको छ भने श्री एयरलाइन्सले ५३ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको यात्रु संख्या भने निकै न्यून देखिएको छ । निगमले अप्रिलमा करिब १ हजार यात्रुलाई मात्र सेवा दिएको तथ्यांक सार्वजनिक भएको छ । समिट एयर, तारा एयर र सीता एयरजस्ता कम्पनीहरूले दुर्गम तथा हिमाली क्षेत्रमा उडान सञ्चालन गर्दै आएका छन् ।
यता अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रु चाप उल्लेख्य रूपमा बढेको छ । अप्रिल महिनामा ४ लाख ५० हजारभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन् । मार्चको तुलनामा यो संख्या उल्लेख्य वृद्धि हो ।
वसन्त ऋतु पर्वतारोहण, ट्रेकिङ तथा नेपाल भ्रमणका लागि उपयुक्त समय मानिने भएकाले विदेशी पर्यटक आगमन बढेको हो । यही कारण अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
