लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि नीतिगत संवाद
टुरिजमफेस
काठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद गरिएको छ ।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आज यहाँ नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, महिला पर्यटन उद्यमी तथा विज्ञहरूको सहभागितामा नीतिगत संवाद गरिएको हो ।
कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका उपायमाथि छलफल गरिएको छ । संवादको उद्देश्य महिला नेतृत्वद्वारा सञ्चालित पर्यटन उद्यमलाई सहयोग पुग्ने नीतिगत तथा कार्यक्रमगत प्रतिक्रियाहरू सुदृढ गर्नु रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको विकास, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महिलाको भूमिका, घरबास तथा आवास सेवा, हस्तकला, खाद्य सेवा, समुदायमा आधारित पर्यटन प्रवर्द्धनलगायत विषयमा सूक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाको योगदानको विषयमा छलफल भएको उनले जानकारी दिए ।
कार्यक्रममा प्राकृतिक विपद्, कोभिड-१९ महामारी, जलवायु परिवर्तनको जोखिम तथा आर्थिकमन्दीलगायत सङ्कटका समयमा महिला नेतृत्वद्वारा सञ्चालित पर्यटन उद्यम बढी प्रभावित भएकाले वित्त, बजार, सीप, प्रविधि र संस्थागत सहयोगमा रहेका समस्याहरूको समाधानका विषयमा छलफलमा भएको छ ।
