बाँडेगाउँ पुगेर पूर्णबहादुर खड्काले भने– ‘कांग्रेस एकताका लागि संकल्प गर्न आएको हुँ’
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीभित्र एकताको सन्देश दिन कृष्णप्रसाद भट्टराई आश्रम, बाँडेगाउँ पुगेका छन्।
कार्यकर्तासहित आश्रम पुगेका खड्काले पार्टीको समग्र एकतालाई आफ्नो मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरे। आश्रम परिसरमा उनले आफू ‘पार्टीको सम्पूर्ण एकताको संकल्प’ गर्न आएको बताए।
खड्काको सचिवालयका अनुसार उनी यसअघि पनि आगलागीबाट क्षतिग्रस्त आश्रमको निरीक्षण गर्न पुगेका थिए। गत भदौ २४ गते आगजनी भएको आश्रम उनले भदौ २८ गते अवलोकन गरेका थिए। त्यसपछि उनी दोस्रोपटक बाँडेगाउँ पुगेका हुन्।
खड्कासँगै कांग्रेसका विभिन्न नेता तथा कार्यकर्तासमेत आश्रम पुगेका थिए। टोलीमा रामहरि खतिवडा, ईश्वरी न्यौपाने, ऐनबहादुर शाही, कान्तिका सेजुवाल, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल तथा कर्णाली प्रदेश कांग्रेसका सभापति ललितजंग शाहीलगायत नेताहरू सहभागी थिए।
बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम कांग्रेसका संस्थापक नेता तथा पूर्वसभापति कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को स्मृतिसँग जोडिएको महत्वपूर्ण स्थल हो।
आश्रममा पुगेर खड्काले दिएको प्रतिक्रियालाई उनको सचिवालयले सञ्चारमाध्यममा सार्वजनिक गरेको हो। पछिल्लो समय पार्टीभित्र देखिएका मतभेद र आन्तरिक विवादका बीच खड्काको बाँडेगाउँ भ्रमणलाई कांग्रेसभित्र एकताको सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।
