वैचारिक मतभेदपछि प्रगतिशील लोकतान्त्रिक पार्टी दुई धारमा, सोब र परियारले छुट्टाछुट्टै राजनीतिक यात्रा तय गर्ने
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा विभाजन भएको छ। पार्टीभित्र देखिएको वैचारिक, राजनीतिक र संगठनात्मक असहमतिलाई समाधान गर्न नसकिएपछि अध्यक्ष दुर्गा सोब र सन्तोष परियार नेतृत्वका समूहले अबदेखि अलग–अलग राजनीतिक गतिविधि सञ्चालन गर्ने सहमति गरेका छन्।
गत मङ्सिर ७ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी (विद्रोही समूह) र जेन–जी समूहको एकीकरणबाट गठन भएको यो पार्टी निर्वाचनपछिको बदलिएको राजनीतिक अवस्था र संगठन सञ्चालनसम्बन्धी मतभेदका कारण एकीकृत रहन नसकेको जनाइएको छ।
सहमतिअनुसार दुर्गा सोब नेतृत्वको पक्षले हालको पार्टी संरचना, नाम र ‘आँखा’ निर्वाचन चिन्ह कायम राख्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ। यता, सन्तोष परियार नेतृत्वको समूहले पनि ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम प्रयोग गर्ने भए पनि फरक निर्वाचन चिन्ह र तीन रङको झण्डासहित नयाँ संगठनात्मक ढाँचामा अघि बढ्ने निर्णय गरेको छ।
दुवै पक्षले अब आफ्नै कार्यालय, विधान, लेटरप्याड तथा संगठनात्मक संरचना सञ्चालन गर्नेछन्। एक–अर्काको नाम, प्रतीक वा संस्थागत पहिचानमाथि दाबी नगर्ने समझदारी पनि भएको छ।
सहमतिपत्रअनुसार एकीकृत पार्टीका क्रममा रहेका चल–अचल सम्पत्ति, बैंक मौज्दात, आर्थिक स्रोत तथा ऋण–दायित्व पारदर्शी ढंगले आपसी सहमतिमा बाँडफाँड गरिनेछ।
नेताहरूले यो विभाजनलाई आपसी विवादभन्दा पनि राजनीतिक परिस्थितिअनुसार भएको स्वाभाविक पुनर्संरचनाको प्रक्रिया भएको बताएका छन्। उनीहरूले राष्ट्रिय स्वाधीनता, सुशासन, संघीयता लगायतका साझा राष्ट्रिय मुद्दामा आवश्यक पर्दा भविष्यमा पनि सहकार्य र संवाद कायम रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यससँगै निर्वाचन आयोगमा पार्टी अद्यावधिकका लागि यसअघि दर्ता गरिएको निवेदन फिर्ता लिएर दुवै पक्षले आ–आफ्नो कानुनी प्रक्रिया नयाँ ढंगबाट अघि बढाउने सहमति गरेका छन्। उक्त सहमतिपत्रमा दुर्गा सोब र सन्तोष परियारले हस्ताक्षर गरेका छन् भने दुवै पक्षका नेताहरू साक्षीका रूपमा रहेका छन्।
