पाहुना चराचुरुङ्गीहरूको चिरबिर आवाजले गुञ्जायमान नागदह : हरियो टाउके हाँस र संकटमा सिमसार
टुरिजमफेस
काठमाडौं । ललितपुरको धापाखेलस्थित ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थल नागदह अचेल पाहुना चराचुरुङ्गीहरूको चिरबिर आवाजले गुञ्जायमान छ।
जाडो छल्नका लागि उत्तरी गोलार्द्धका अति चिसो ठाउँहरू- साइबेरिया, रसिया र मध्य एसियाबाट हजारौँ किलोमिटरको कठिन हवाई यात्रा तय गर्दै हरियो टाउके हाँस यहाँ आइपुग्छन्। अङ्ग्रेजीमा’Mallard’ भनिने यस चराको भालेको टाउको चम्किलो गाढा हरियो हुने भएकाले यसलाई हरियो टाउके भनिएको हो। यी आकर्षक आगन्तुक चराहरू सुरक्षित वासस्थान र आहाराको खोजीमा काठमाडौँ उपत्यकाका नागदह, टौदह लगायत देशका विभिन्न तालतलैया र नदी किनारमा ओर्लिन्छन्।

नागदह जस्ता सिमसार क्षेत्रहरू यी चराहरूका लागि मात्र नभई समग्र पारिस्थितिक प्रणाली(Ecosystem) का लागि महत्त्वपूर्ण छन्। यहाँ पाइने लेउ, साना जलचर किराहरू र जलीय वनस्पतिहरू यिनीहरूका मुख्य आहारा हुन्। जाडोभरि यहाँको न्यानो आतिथ्यता ग्रहण गरेर गर्मी सुरु हुनुभन्दा अगाडि यी चराहरू पुनः आफ्नै थातथलोतिर फर्कने गर्छन्। तर, पछिल्लो समयमा बढ्दो सहरीकरण, प्रदूषण र मानवीय हस्तक्षेपका कारण यस्ता सिमसार क्षेत्रहरू संकटमा पर्दै गएका छन्।

जैविक विविधता कायम राख्न र यस्ता सुन्दर पाहुना चराहरूको आगमनलाई निरन्तरता दिन सिमसार, ताल र नदीहरूको संरक्षण गर्नु अनिवार्य छ। यदि प्रकृतिमा जैविक सन्तुलन हुँदैनथ्यो भने यी चराहरू यहाँ आउने थिएनन्। त्यसैले, नागदह जस्ता प्राकृतिक सम्पदाको सफाई र संरक्षणमा ध्यान दिनु हामी सबैको दायित्व हो, ताकि आगामी पुस्ताले पनि यी मनमोहक दृश्यहरू देख्न पाऊन्। सुप्रदीप्त न्यौपाने
