हामी आफैं फुटेनौँ भने रास्वपालाई कसैले हराउन सक्दैन’ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र एकता कायम रहेसम्म रास्वपालाई कमजोर बनाउने वा विभाजित गर्ने शक्ति कसैसँग नरहेको बताएका छन्। पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आन्तरिक एकता, राजनीतिक प्रतिबद्धता र साझा लक्ष्य नै रास्वपाको सबैभन्दा ठूलो शक्ति भएको बताए।
पार्टी गठनसँगै रास्वपा नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको उल्लेख गर्दै लामिछानेले त्यसलाई कमजोर बनाउन विभिन्न कोणबाट प्रयास हुने स्वीकार गरे। तर, ती प्रयास सफल हुने वा नहुने कुरा अन्ततः पार्टीभित्रको एकता, नेतृत्वको परिपक्वता र कार्यकर्ताको निष्ठामा निर्भर रहने उनको भनाइ थियो।
उनले भने, “हामी आफैं लड्यौं भने मात्रै रास्वपा लड्छ, तर हामीलाई लडाउने शक्ति यो युगमा जन्मिँदैन।” लामिछानेको यो अभिव्यक्ति रास्वपाभित्रको आन्तरिक एकतालाई बलियो बनाउने सन्देशका रूपमा हेरिएको छ।
‘फाटो ल्याउने प्रयास हुन्छन्, तर लक्ष्यबाट विचलित हुँदैनौं’
महाधिवेशनमा बोल्दै लामिछानेले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई रोक्न, कमजोर बनाउन र विभाजनको अवस्थामा पुर्याउन विभिन्न प्रयास हुन सक्ने बताए। यद्यपि, पार्टीले जनतासँग गरेका प्रतिबद्धताबाट पछि नहट्ने र तिनलाई कार्यान्वयन गरेरै छाड्ने उनको दाबी थियो।
“लडाउने, ढाल्ने र फाटो ल्याउने प्रयास धेरै हुनेछन्,” उनले भने, “तर नेपाली जनतालाई साक्षी राखेर रास्वपाले गरेका एक–एक प्रतिबद्धता पूरा हुनेछन्।”
उनको भनाइमा रास्वपा कुनै एक व्यक्तिको महत्वाकांक्षाबाट बनेको दल नभई फरक–फरक पृष्ठभूमिबाट आएका मानिसहरूको साझा अभियान हो। त्यसैले पार्टीभित्र पद, प्रभाव र नेतृत्वको प्रतिस्पर्धाभन्दा पनि संस्थागत एकता र राजनीतिक उद्देश्यलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
बालेनसँग सहकार्यको संकेत
सम्बोधनका क्रममा लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगको सहकार्य र विश्वासलाई पनि विशेष रूपमा उल्लेख गरे। उनले राजनीतिक यात्रालाई प्रतिस्पर्धा होइन, साझा लक्ष्यका लागि गरिने सहकार्यका रूपमा बुझ्नुपर्ने सन्देश दिए।
“हामीले पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल राखिसकेका छौं। झुकेर त्यो बल कतै मेरोतिर आयो भने फेरि त्यही खुट्टामा पास दिने जिम्मेवारी मेरो हुन्छ,” उनले भने।
उनको यो भनाइले पार्टीभित्र नेतृत्वबीच टकराव नभई सहकार्य र समन्वयको सन्देश दिन खोजिएको देखिन्छ। पछिल्लो समय रास्वपाभित्र नेतृत्वको भूमिका, प्रभाव र भविष्यबारे भइरहेका चर्चाबीच लामिछानेले बालेनसँगको सम्बन्धलाई सार्वजनिक रूपमा सकारात्मक रूपमा प्रस्तुत गरेका हुन्।
‘यो अवसर गुमाउने छुट छैन’
लामिछानेले वर्तमान पुस्ताले प्राप्त गरेको राजनीतिक अवसरलाई केवल चुनावी उपलब्धिमा सीमित नराखी दीर्घकालीन परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले आफूहरू अहिलेको पुस्तामात्र नभई भविष्यका नागरिकप्रति पनि जवाफदेही रहेको बताए।
“आज जन्मिएकाहरूले मात्रै होइन, भोलि जन्मिने पुस्ताले पनि मलाई र बालेनजीलाई सोध्नेछन्— ‘तिमीहरूले यो अवसर किन गुमायौ ?’ त्यसैले यो अवसरलाई परिणाममा बदल्नुपर्छ,” उनले भने।
उनले राजनीतिक परिवर्तनको यो क्षणलाई केवल नारामा सीमित नगरी जनताले अनुभूति गर्ने गरी नतिजामा रूपान्तरण गर्नुपर्ने धारणा राखे।
‘मलाई पद होइन, पार्टी बलियो होस्’
सभापति लामिछानेले आफूलाई व्यक्तिगत रूपमा कुनै पदको लोभ नभएको पनि बताए। संस्थापक सभापतिको हैसियतले आफ्नो मुख्य चासो पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा, षड्यन्त्र र पदकेन्द्रित राजनीति नहोस् भन्ने रहेको उनले स्पष्ट पारे।
“मलाई व्यक्तिगत रूपमा केही पनि चाहिएको छैन,” उनले भने, “संस्थापक सभापतिको हैसियतले मेरो अपेक्षा यति मात्रै हो— पदका लागि अस्वस्थ राजनीति र षड्यन्त्र नगरियोस्।”
उनले महाधिवेशनबाट जो निर्वाचित भए पनि अन्ततः जित पार्टीकै हुने भन्दै कार्यकर्तालाई व्यक्तिगत गुटभन्दा संगठनप्रति निष्ठावान रहन आग्रह गरे।
“जसले जिते पनि घण्टी बोक्नेले जित्छ, जसले जिते पनि रास्वपाले जित्छ,” उनले भने।
नयाँ शक्तिका लागि ‘एकता’ नै मुख्य परीक्षा
रास्वपाको प्रथम महाधिवेशन केवल संगठनात्मक अभ्यास मात्र नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यतिबेला नेतृत्व, संरचना, वैचारिक स्पष्टता र संगठन विस्तारबारे बहस भइरहेका बेला लामिछानेले दिएको सन्देश मुख्यतः पार्टीभित्रको एकता जोगाउने र जनतासँगको भरोसा कायम राख्ने दिशामा केन्द्रित देखिएको छ।
उनको भाषणले रास्वपाको आगामी यात्रा व्यक्तिगत प्रतिस्पर्धाले होइन, सामूहिक लक्ष्य र संगठनात्मक अनुशासनले तय हुने सन्देश दिन खोजेको बुझिन्छ।
