सिक्टाको नहरले बाँकेका खेतमा हरियाली, २२ हजार हेक्टरमा सिँचाइ पुगेपछि रोपाइँले समात्यो गति
नेपालगन्ज । पर्याप्त वर्षा नहुँदा बाँकेका किसानमा रोपाइँ ढिलिने चिन्ता बढिरहेका बेला सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी प्रवाह गरेपछि जिल्लाका खेतबारीमा धान रोपाइँले तीव्रता पाएको छ। आकाशे पानीको प्रतीक्षामा बस्नुपर्ने बाध्यता हट्दै गएपछि किसान अहिले नहरकै पानीका भरमा समयमै रोपाइँमा जुटेका छन्।
राप्तीसोनारी गाउँपालिका–३, नवलपुरकी मेलिना चौधरीले यस वर्ष नहरबाट आएको पानीको सहारामा सोमबारदेखि धान रोप्न थालेकी छन्। उनले चार कट्ठा खेतमा रोपाइँ गरिसकेकी छन् भने बाँकी नौ कट्ठा खेतमा पनि रोपाइँ पूरा गर्ने तयारीमा छिन्। जलजला महिला समूहका १३ जना रुपार्नी परिचालन गरेर उनले खेत रोपाएकी हुन्।
मेलिनाका अनुसार सिक्टाको पानी खेतमा पुगेपछि वर्षा नपरे पनि खेती रोकिएन। “पहिले पानी नपर्दा रोपाइँ कहिले गर्ने भन्ने चिन्ता हुन्थ्यो, अहिले नहरमा पानी आएपछि ढुक्क भएर रोप्न पाइएको छ,” उनले भनिन्।
उनको खेतमा रोपाइँ गर्न पुगेकी मनसरा डाँगीले पनि नहरकै पानीले खेतीपाती सहज बनेको बताइन्। आफ्नो १४ कट्ठा खेतमा पनि अब रोपाइँ सुरु गर्ने तयारीमा रहेकी उनले भनिन्, “पहिले पानी नपर्दा खेत सुक्ने डर हुन्थ्यो, अहिले नहरमा पानी भएपछि समयमा काम गर्न सकिने भएको छ।”
किसान रोपाइँमा व्यस्त
सिक्टा सिँचाइ आयोजनाले राप्तीसोनारी–३ नवलपुर क्षेत्रमा पानी छाडेपछि स्थानीय किसानहरू धमाधम खेतमा उत्रिएका छन्। यस वर्ष नवलपुर क्षेत्रमा पहिलोपटक धान रोप्ने किसानमध्ये चन्द्रबहादुर थापा पनि एक हुन्। उनले असारको पहिलो सातामै पाँच कट्ठा १४ धुर खेतमा रोपाइँ सकिएको बताए।
उनका अनुसार नहरमा पानी आएपछि खेत बाँझै रहने चिन्ता हटेको छ। “अघिल्ला वर्षजस्तो पानीको पर्खाइमा बस्नुपरेन, समयमै रोपाइँ गर्न पाए उत्पादन पनि राम्रो हुन्छ भन्ने आशा छ,” उनले भने।
२२ हजार हेक्टरमा पुर्यायो पानी
सिक्टा सिँचाइ आयोजनाका अनुसार हाल बाँके जिल्लामा करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ। पर्याप्त वर्षा नभएको अवस्थामा पनि नहर प्रणालीमार्फत पानी पुगेपछि किसानले धान रोपाइँ अघि बढाउन सकेका छन्।
आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार मुख्य बाँध (हेडवर्क्स)बाट पूर्वी र पश्चिम मूल नहरमार्फत पानी वितरण भइरहेको छ। ३१७ मिटर लम्बाइको बाँधबाट पूर्वतर्फ फत्तेपुरका शाखा नहर तथा राजकुलोमा र पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँलगायत क्षेत्रमा पानी प्रवाह भइरहेको उनले बताए।
उनका अनुसार आयोजनाले सिँचाइ पुर्याउनुपर्ने कुल क्षेत्रफल ४३ हजार ६७५ हेक्टर हो। त्यसमध्ये हाल २२ हजार हेक्टरमा पानी पुगेको छ भने बाँकी क्षेत्र समेट्न डुडुवा शाखा नहर निर्माणको काम अघि बढाइएको छ।
डुडुवा शाखा बनेपछि ३०–३२ हजार हेक्टरमा विस्तार हुने अपेक्षा
आयोजनाले निर्माण गरिरहेको डुडुवा शाखा नहर सम्पन्न भएपछि थप १६ हजार हेक्टर क्षेत्र सिँचाइ सुविधामा जोडिने अपेक्षा गरिएको छ। इन्जिनियर विष्टका अनुसार यो नहर प्रणालीको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
“पहिलो वर्षको काम सकिएको छ, अब बाँकी दुई वर्षभित्र डुडुवा, खजुरा र मानपुर शाखाका संरचना निर्माण पूरा गर्ने लक्ष्य छ,” उनले भने, “डुडुवा शाखा बनेपछि कुल सिँचित क्षेत्र ३० देखि ३२ हजार हेक्टरसम्म पुग्नेछ।”
बाँकेका विभिन्न पालिकामा रोपाइँ सुरु
सिक्टा सिँचाइ आयोजनाले शिक्षादहरबाट पानी सञ्चालन गरेपछि बाँकेका विभिन्न स्थानीय तहमा रोपाइँ सुरु भएको छ। आयोजनाका अनुसार कोहलपुर नगरपालिका–६, १० र १५, जानकी गाउँपालिका–३, ४ र ५, वैजनाथ गाउँपालिका–५ र ७, डुडुवा गाउँपालिका–२ र ५ तथा खजुरा गाउँपालिका–४, ५, ६, ७ र ८ मा किसानले रोपाइँ थालेका छन्।
त्यसैगरी राप्तीसोनारी गाउँपालिका–२, ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिका–६ मा पनि नहरको पानी पुगेपछि धान रोप्ने काम अघि बढेको छ।
आकाशे पानीको भर घट्दै, किसानमा उत्साह बढ्दै
स्थानीय किसानहरूका अनुसार सिक्टा सिँचाइ आयोजनाले वर्षामाथिको निर्भरता घटाउँदै कृषि उत्पादनलाई व्यवस्थित बनाउन सहयोग गरेको छ। असारको सुरुमै नहरमा पानी पुगेकाले ब्याड राख्ने, खेत जोत्नेदेखि रोपाइँसम्मका काम सहज बनेका छन्।
यदि डुडुवा शाखासहितका बाँकी संरचना पनि समयमै सम्पन्न भए बाँकेमा खेतीयोग्य ठूलो भूभाग स्थायी सिँचाइको पहुँचमा पुग्नेछ। त्यसले धान मात्र होइन, वर्षभरि बहुवाली खेती विस्तार गर्ने सम्भावनासमेत बढाउने अपेक्षा गरिएको छ।
