रुद्राक्षले किसानको जीवनमा हरियाली (तस्वीरसहित)
भोजपुर — कुनै समय जंगलमा आफैं उम्रिने रुद्राक्ष आज भोजपुरका किसानका लागि सुन फल्ने बोट बनेको छ। सुन्तला र अलैँचीपछि जिल्लाको पहिचान बन्दै गएको रुद्राक्ष खेती अहिले यहाँको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको छ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको रुद्राक्षको व्यावसायिक विस्तारसँगै भोजपुरका किसानले खेतीबाटै स्थायी आम्दानीको बाटो फेला पारेका छन्। अनुकूल हावापानी र उर्वर माटोले रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण बनाइदिँदा यसबाट हुने कारोबार पनि वर्षेनी बढ्दै गएको छ।
षडानन्द नगरपालिका र आसपासका क्षेत्रमा मात्रै करिब एक लाख रुद्राक्षका विरुवा रहेको बताइन्छ। नगर प्रमुख सुरेन्द्रकुमार उदासका अनुसार भोजपुर आज रुद्राक्ष उत्पादनका हिसाबले देशकै केन्द्रका रूपमा चिनिन थालेको छ। “यहाँ एकदेखि २९ मुखेसम्मका रुद्राक्ष उत्पादन हुन्छन्। मुखको संख्या अनुसार मूल्य फरक पर्छ,” उनले बताए, “एक जना किसानले मात्रै २१ मुखे रुद्राक्ष ७४ लाख रुपैयाँमा बिक्री गर्नुभएको उदाहरण पनि छ।”
साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका धेरै वडामा अहिले रुद्राक्षका बगैँचा फैलिँदै गएका छन्। पहिला जङ्गलमा सीमित रुद्राक्ष अहिले योजनाबद्ध रूपमा खेतबारीमै रोपिन थालेको छ।
स्थानीय किसानहरूका अनुसार रुद्राक्ष खेती तत्काल फल नदिने दीर्घकालीन लगानी हो। तर एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म निरन्तर आम्दानी दिन्छ। यही कारण युवासमेत रुद्राक्ष खेतीतर्फ आकर्षित हुन थालेका छन्।
भोजपुरमा उत्पादन हुने रुद्राक्ष धार्मिक प्रयोजनमा मात्र सीमित छैन। यहाँबाट माला, कन्ठी, ब्रासलेट, औँठी, झुम्का, पूजा सामग्री र सजावटी सामग्री तयार गरिन्छ। यी उत्पादन काठमाडौं, धरान, विराटनगरलगायत सहरसँगै भारत र चीनसम्म निर्यात भइरहेका छन्।
रुद्राक्ष खेतीबाट भोजपुरमा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको छ। यसले किसानको जीवनस्तर उकास्नुका साथै जिल्लाको समग्र आर्थिक गतिविधिलाई पनि गति दिएको छ।

