‘एडभेन्चर टुरिज्म’को नाममा कलंक, नक्कली हेलिकोप्टर उद्धारले नेपाल पर्यटनको छविमा गम्भीर प्रश्न
पत्रकार सम्मेलनमा सिआइबीका अधिकारीहरू ।
काठमाडौं। हिमाल, पदयात्रा र साहसिक पर्यटनका लागि विश्वभर चिनिएको नेपालमा ‘रेस्क्यु’ नै व्यापारको माध्यम बनेको तथ्य बाहिरिँदा पर्यटन क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। छानबिन सिफारिस भएको झण्डै ६ वर्षपछि प्रहरीले ‘फेक रेस्क्यु’ प्रकरणको औपचारिक अनुसन्धान थालेसँगै नेपाललाई सुरक्षित र जिम्मेवार गन्तव्यका रूपमा चिनाउने प्रयासमा धक्का पुगेको छ।
पर्यटन मन्त्रालयको सिफारिसपछि बनेको छानबिन समितिले २०७५ मै नक्कली उद्धार उडानलाई संगठित ठगी र अपराधको श्रेणीमा राखेर कारबाही सिफारिस गरेको थियो। तर, त्यो प्रतिवेदन लामो समय दराजमै थन्कियो। अब भने, पर्यटकको बिमा रकम हत्याउन हेलिकोप्टर उद्धारलाई दुरुपयोग गरिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।
‘रेस्क्यु’ कि ‘रेभेन्यु मोडेल’ ?
प्रारम्भिक अनुसन्धानले देखाएको तथ्यले नेपालको साहसिक पर्यटनको एउटा अँध्यारो पाटो उजागर गरेको छ। पर्वतारोहण र ट्रेकिङमा आएका पर्यटकलाई लेक लागेको भन्दै डर देखाउने, अनावश्यक रूपमा हेलिकोप्टर बोलाउने र काठमाडौं ल्याएर निश्चित अस्पतालमा भर्ना गराउने—यी सबै प्रक्रिया योजनाबद्ध रूपमा गरिएको प्रहरीको दाबी छ।
सीआईबीका अनुसार उद्धार कम्पनी, हेलिकोप्टर सेवा प्रदायक र अस्पतालबीचको मिलेमतोमा यस्तो ‘रेस्क्यु टुरिज्म’ विकास भएको देखिन्छ। एउटै उडानमा आएका पर्यटकका नाममा फरक–फरक उद्धार बिल बनाउने, अनुमति लिएको क्षेत्रभन्दा अर्कै स्थानबाट उद्धार देखाउने जस्ता अभ्यासले अन्तर्राष्ट्रिय बिमा कम्पनीसमेत सशंकित बनेका थिए।
पर्यटन गन्तव्यको छविमा चोट
विदेशी सञ्चारमाध्यममा पटक–पटक ‘फेक रेस्क्यु’ का समाचार आउनुले नेपाललाई जोखिमपूर्ण र अव्यवस्थित गन्तव्यका रूपमा चित्रण गरिएको पर्यटन व्यवसायीहरू बताउँछन्।
पर्यटन विज्ञहरूका अनुसार, यो प्रकरण केवल आर्थिक ठगीको विषय होइन—यो नेपालको एडभेन्चर टुरिज्म ब्रान्डमै लागेको दाग हो।
“पर्यटकले उद्धार सेवा जीवनरक्षकका रूपमा बुझ्छन्, नाफाको माध्यमका रूपमा होइन,” एक पर्यटन विश्लेषक भन्छन्, “यदि रेस्क्यु नै अविश्वसनीय बन्यो भने, ट्रेकिङ र पर्वतारोहण रोज्ने पर्यटक घट्ने जोखिम हुन्छ।”
विश्वस्तरीय पर्यटनमा अवरोध
नेपालले दिगो र जिम्मेवार पर्यटनको कुरा गर्दै आएको बेला यस्तो प्रकरण सार्वजनिक हुनु चुनौतीपूर्ण मानिन्छ। सुरक्षित ट्रेकिङ र आपतकालीन उद्धार प्रणाली विश्वस्तरीय हुनुपर्नेमा त्यसैलाई दुरुपयोग गरिएको आरोपले सरकार र निजी क्षेत्र दुवैको जवाफदेहिता खोजिएको छ।
प्रहरीका अनुसार २०२२ देखि २०२५ सम्मका उद्धार उडानको जाँच गर्दा सयौँ उद्धार शंकास्पद देखिएका छन्। यसले केवल कानुनी कारबाही होइन, सम्पूर्ण पर्यटन व्यवस्थापन सुधारको खाँचो औंल्याएको छ।
सुधारको अवसर कि गुमेको भरोसा?
पर्यटन मन्त्रालय र सुरक्षा निकायका लागि यो अनुसन्धान आत्मसमीक्षाको अवसर पनि हो। ट्रेकिङ गाइड, ट्राभल कम्पनी, उद्धार सेवा र अस्पतालबीच स्पष्ट मापदण्ड, निगरानी र पारदर्शिता बिना नेपालको साहसिक पर्यटन दीर्घकालीन रूपमा टिक्न नसक्ने विज्ञहरूको चेतावनी छ।
पत्रकार सम्मेलनमा सिआइबीका अधिकारीहरू ।
