जहाज अभावदेखि योजना विफलतासम्म : देशभर २१ विमानस्थल किन निष्क्रिय भए ?
काठमाडौँ— देशभर निर्माण गरिएका दर्जनौँ विमानस्थलमध्ये २१ वटा हाल पूर्ण रूपमा सञ्चालनबाहिर छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पछिल्लो विवरणअनुसार कुल ५५ विमानस्थलमध्ये ३४ मात्रै नियमित वा आंशिक रूपमा सञ्चालनमा छन्, बाँकी २१ विमानस्थल प्रयोगविहीन अवस्थामा पुगेका छन्।
क्यानका अनुसार नेपालमा तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल रहेका छन्। तर जहाजको अभाव, दुर्घटनाको प्रभाव, यात्रु घट्दो संख्या र दीर्घकालीन योजना बिना निर्माण गरिएका पूर्वाधारका कारण धेरै विमानस्थल ‘कागजमै सीमित’ भएका छन्।
हाल बन्द रहेका विमानस्थलहरूमा बलेवा (बागलुङ), बैतडी, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, डोटी, पालुङटार, जिरी, कालिकोट, कमलबजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर, मेघौली, रोल्पा, स्याङ्बोचे र टिकापुर रहेका छन्।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल बन्द हुनुको प्रमुख कारण वायुयानको गम्भीर अभाव हो। “विमानस्थल थपिँदै गए तर त्यसअनुसार जहाज संख्या बढेन,” उनले भने, “एयरलाइन्ससँग जहाज नै नभएपछि सबै विमानस्थल कसरी सञ्चालन हुन्छन् ?”
उनका अनुसार २०४७ साल अघिसम्म सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग १५ वटाभन्दा बढी जहाज थिए, जसले दुर्गम र सुगम दुवै क्षेत्रमा नियमित उडान गर्थे। पछि सडक सञ्जाल विस्तार हुँदै जाँदा दुर्गम हवाई यात्रु घट्दै गए भने निजी वायुसेवा कम्पनीहरू मुख्यतः नाफा हुने सुगम रुटमै केन्द्रित भए।
विमानस्थल बन्द हुनुको अर्को गम्भीर कारण विगतका हवाई दुर्घटनाहरू रहेको क्यान बताउँछ। दुर्गम भेगमा भएका दुर्घटनाले यात्रुमा असुरक्षाको भावना बढाएको छ भने वायुसेवा कम्पनीहरू पनि जोखिम लिन हिच्किचाएका छन्। “दुर्घटनापछि उडान घट्छ, उडान घटेपछि यात्रु घट्छन् र अन्ततः विमानस्थल निष्क्रिय बन्छ,” भुलले बताए।
यससँगै आवश्यकता र सम्भाव्यता अध्ययनबिनै विमानस्थल निर्माण गर्नु पनि समस्या बनेको छ। यात्रुको माग, जहाज उपलब्धता र आर्थिक टिकाउपन नहेरी राजनीतिक पहुँच र दबाबका आधारमा विमानस्थल बनाइएका उदाहरण प्रशस्तै छन्। क्यानका अनुसार एउटा विमानस्थलको धावनमार्ग मात्रै बनाउन ३० करोडदेखि ८० करोड रुपैयाँसम्म खर्च हुने गर्छ, तर सञ्चालन नहुँदा त्यो लगानी खेर जाने अवस्था आएको छ।
अर्को चुनौती दुर्गम विमानस्थलको व्यवस्थापन हो। अधिकांश विमानस्थलको अनुगमन र सञ्चालन काठमाडौंबाटै गर्नुपर्ने बाध्यताले पनि नियमितता कायम गर्न कठिन भएको क्यानको भनाइ छ।
यसबाहेक दुर्गम हवाई भाडा महँगो हुनु, हवाई इन्धन र स्पेयर पार्ट्समा सहुलियत नहुनु तथा वायुसेवा कम्पनीका लागि प्रोत्साहन अभाव पनि विमानस्थल निष्क्रिय हुनुका कारण बनेका छन्। क्यानका अधिकारीहरू दुर्गम उडानलाई प्रभावकारी बनाउन जहाज आयातमा भन्सार छुट, इन्धनमा सहुलियत र विशेष प्रोत्साहन प्याकेज आवश्यक रहेको बताउँछन्।
पूर्वाधार विस्तार र वास्तविक आवश्यकताबीच समन्वय नहुँदा मुलुकका दर्जनौँ विमानस्थल आज उपयोगविहीन बनेका छन्, जसले हवाई क्षेत्रको दीर्घकालीन नीति र योजनामाथि गम्भीर प्रश्न उठाएको छ।
