दानबहादुर कार्कीको रिटमा ९ मंसिरमा सर्वोच्चमा सुनुवाइ
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा ९ मंसिरमा सुनुवाइ हुने भएको छ।
कार्कीको रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त मिति तोकेको हो।
सरकारले आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि कार्कीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। त्यसपछि मुद्दालाई विशेष अग्राधिकार दिँदै ७ मंसिरमा पेशी तोकिएको थियो।
तर सोमबार भएको सुनुवाइमा आईजीपीमा नियुक्त डा. मनोजकुमार केसीले अदालतको म्याद बुझेको प्रमाण पेस नभएको देखिएपछि मुद्दा टुंगोमा पुग्न सकेन। इजलासले अर्को मिति तोक्दै सुनुवाइ स्थगित गरेको हो।
अब म्याद बुझेको प्रमाणसहित ९ मंसिरमा रिटमाथि सुनुवाइ हुने भएको छ।
गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। त्यसपछि सरकारले डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णयप्रति असहमति जनाउँदै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।
