तल्लो अरूण निर्माणको बाटो खुल्यो, बालेन–मोदीले गरे शिलान्यास
काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई थप अघि बढाउँदै ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन्।
कोशी प्रदेशका संखुवासभा र भोजपुरमा निर्माण हुने आयोजनाको अनुमानित लागत करिब ६० करोड अमेरिकी डलर रहेको छ। भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तर्गतको कम्पनीले आयोजना निर्माण गर्नेछ।
आयोजनाको वित्तीय व्यवस्थापन पूरा भइसकेकाले अब निर्माणको चरण सुरु हुने भएको छ। नेपाल सरकारको लगानी बोर्ड र एसजेभिएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनीबीच २०२३ जुन १ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो।
नेपालले २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने
तल्लो अरूणबाट उत्पादन हुने कुल विद्युत्को २१.९ प्रतिशत हिस्सा नेपालले निःशुल्क प्राप्त गर्नेछ। यसबाहेक नेपालले कानुनअनुसार रोयल्टी तथा अन्य आर्थिक लाभसमेत पाउनेछ।
आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा अघि बढाइनेछ। व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ।
अरूण तेस्रोको पानीबाट विद्युत् उत्पादन
तल्लो अरूण आयोजनाको अर्को विशेषता ठूलो छुट्टै बाँध निर्माण गर्न नपर्ने हो। निर्माणाधीन ९०० मेगावाटको अरूण तेस्रो आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई तल्लो अरूणमा पुनः प्रयोग गरिनेछ।
अरूण तेस्रोबाट निस्किएको पानी करिब १७ किलोमिटर लामो सुरूङमार्फत तल्लो अरूणको विद्युत् गृहमा पुर्याइनेछ। आयोजनामा १६७.२५ मेगावाट क्षमताका चारवटा उत्पादन युनिट रहनेछन्।
आयोजना सम्पन्न भएपछि वार्षिक करिब २ अर्ब ९० करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
९२ अर्बभन्दा बढी विदेशी लगानी स्वीकृत
लगानी बोर्डले २०२३ अप्रिलमा तल्लो अरूणका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको थियो। एसजेभिएनले २०२१ देखि आयोजनाको विकासको जिम्मेवारी सम्हाल्दै आएको छ।
सुरुआतमा आयोजनाको क्षमता ६७९ मेगावाट प्रस्ताव गरिएको थियो। विस्तृत अध्ययनपछि यसको क्षमता ६६९ मेगावाट कायम गरिएको हो।
एसजेभिएनले अरूण नदीमै ९०० मेगावाटको अरूण तेस्रो आयोजना पनि निर्माण गरिरहेको छ। तल्लो अरूणसमेत अघि बढेपछि एउटै नदीमा भारतीय सरकारी कम्पनीको लगानीमा निर्माण भइरहेका यी दुई आयोजनाको संयुक्त क्षमता १ हजार ५६९ मेगावाट पुग्नेछ।
ऊर्जा उत्पादनसँगै यी आयोजनाले नेपाल–भारतबीच विद्युत् व्यापार र दीर्घकालीन ऊर्जा सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
