गाँजा प्रतिबन्ध फुकुवा हुँदा पर्यटकको आगमन बढ्छ
भिम उपाध्याय
पूर्व सचिव नेपाल सरकार
वि.सं. २०३३ मा गाँजामाथि लगाइएको प्रतिबन्ध हट्नुपर्छ भन्ने लामो समयदेखि आवाज उठिरहेको बेला सरकारको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा गाँजाबारे अध्ययन गर्ने भनेको छ । यसले गर्दा सरकार पनि गाँजाको प्रतिबन्ध फुकुवा गर्न लचकता हुँदै गएको आभास हुन्छ । यसै सन्दर्भमा गाँजामाथि लगाइएको प्रतिबन्धलाई फुकुवा गर्नुपर्छ भन्ने माग गर्दै आएका नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायसँग गाँजाको प्रतिबन्ध फुकुवा गर्दा हुने फाइदा र महत्वबारे टुरिजमफेसका प्रधानसम्पादक रुद्र खड्काले गरेको कुराकानीको सम्पादित अंश ।
गाँजामाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ भन्ने लामो समयदेखिको आवाजपछि सरकारले बल्ल त्यसमा अध्ययन गर्न सकिने बताएको छ । के यो आवश्यक हो ?
२०३३ सालअघि गाँजा नेपालमा प्रतिबन्धित थिएन । अमेरिका र खासगरी संयुक्त राष्ट्र संघको निर्णय अनुसार नेपालले गाँजामाथि प्रतिबन्ध लगाएको हो । त्यसपछि विश्वका कैयन देशमा गाँजामाथि प्रतिबन्ध लाग्यो । गाँजामाथि प्रतिबन्ध लाग्दा नेपालले ठूलो मूल्य चुकायो, आम्दानी गुमायो । गाँजा नेपालको जुनसुकै क्षेत्रमा र जोसुकैले उत्पादन गर्न सक्ने बाली हो । यसले नेपालको अर्थतन्त्रलाई निकै सहयोग गर्छ । गाँजालाई नियमभित्र बसेर उत्पादन र कारोबार गर्न दिँदा नेपालको हित हुन्छ ।
कसरी ?
अहिले विश्वभरि बर्सेनि गाँजाको माग १५–२० प्रतिशतले बढिरहेको छ । जसले गर्दा जति उत्पादन हुन्छ, त्यतिले पुगिरहेको छैन । कैयन देशमा गाँजाको लागत र मूल्यमा खासै फरक छैन । अझ कतिपय देशमा त उत्पादनभन्दा लागत महँगो पर्ने गरेको छ । तर नेपालमा भने निकै सहज तरिकारले अर्थात थोरै लागतमा गाँजाको राम्रो उत्पादन हुने गर्छ । नेपालमा जमिन पनि पर्याप्त छ । जनशक्तिको समस्या छैन । पछिल्लो समयमा त वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि खेतवारी बाँझो हुन थालको छ । आप्रवासनले गर्दा कृषिलगायतको अर्थतन्त्रमा परेको असर कम गर्न पनि गाँजाजस्ता खेतीको आवश्यक परेको छ । गाँजा छिटो आम्दानी दिने नगदे बाली हो ।
सरकारले तत्कालीन समयमा जुन समस्या देखेर गाँजामाथि प्रतिबन्ध लगाएको थियो । त्यो त अहिले पनि कायमै छ हैन र ?
त्यतिखेर प्रतिबन्ध लगाउनुको कारण आन्तरिक भन्दा बाह्य हो । तत्कालीन राजाले पनि गाँजामा प्रतिबन्ध लगाउनु हुँदैन भनेर जोड गरेका थिए । उनले गाँजामाथिको प्रतिबन्ध नलगाउन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई टेलेक्ससमेत गरेका थिए । तर संसारभरि नै प्रतिबन्धको निर्णय लिइएका कारण त्यस्तो निर्णयबाट नेपाल अछुतो रहन सकेन । प्रतिबन्ध लगाउनुमा आफ्नै स्वार्थ थिए । तर अहिले अमेरिकामा पनि गाँजा लगभग प्रतिबन्ध फुकुवाको अवस्थामा छ । गाँजाको अभियोगमा पक्राउ परेका कैयन व्यक्ति रिहा भइसके । यसो हुनुमा गाँजा औषधीको दृष्टिकोणले निकै उपयोगी रहेको पुष्टि भइसकेकाले हो । नयाँ नयाँ रोगका बिरामीका लागि गाँजा प्रभावकारी भइरहेको देखिएको छ । विज्ञानले यसको पुष्टि गरेपछि अमेरिकाले पनि विगतमा अध्ययनबिना प्रतिबन्ध गरिएको रहेछ भनेर महसुस गरिरहेको छ । त्यसैले अहिले विश्व नै सुधारको बाटोमा गएको छ । विश्वका ७० प्रतिशत मान्छे कुनै न कुनै नसा प्रयोग गर्छन् । फेरि मान्छेहरूलाई नसा प्रयोग नगर भनेर मान्ने पनि होइनन् । बरु यसको साटो प्राकृतिक नसा प्रयोग गर्दा शरीरलाई राम्रो हुन्छ र गाँजाको नसा प्राकृतिक हो । यस्ता कुराले हिजोको निर्णय गलत थियो भन्ने देखियो । यी विभिन्न अध्ययनले देखिएका हुन् । चीन, रसिया जस्ता देशले पनि गाँजाको उत्पादन गरेर तेल उत्पादन गर्न थालेका छन् । हिजो पृथ्वीमा कुनै वस्तु खराब छ भने त्यो गाँजा हो भन्नेले अहिले यो त औषधी पो रहेछ भन्न थालेका छन् । हाम्रो शास्त्रले पनि हजारौं वर्षदेखि गाँजालाई आयुर्वेद भन्दै आएका छौं । गाँजालाई दमन गरेर अरुले लाभ उठाए । अब हिजोको तर्क पनि नसुहाउने भएको छ । गाँजा खाएर लठिने भन्ने कुरा अब सुहाउँदैन, किनकि अहिले लठिने खालका बस्तु अरु नै आइसकेका छन् । हिरोइन, कोकिन, डाइजापामको प्रयोग भइरहेको छ । त्यसैले गाँजा प्रतिबन्धको अब कुनै अर्थ रहेन । मेरो धारणा जब नेपालले गाँजा प्रतिबन्ध लगायो त्यसबेलादेखि नै अर्थतन्त्र खस्किँन सुरु ग¥यो भन्ने हो । नेपाल परनिर्भर हुन थाल्यो । गाँजा उत्पादन हुँदासम्म पैसा घरमा पुग्ने मात्र होइन सानोतिनो रोगको उपचारमा औषधी पनि खानु पर्दैन्थ्यो ।
गाँजाको महत्वको बारेमा त राम्रोसँग व्याख्या गर्नुभयो । नेपालमा यसको उत्पादनबारे केही अध्ययन भएको छ ?
यो अवैध भएकाले त्यति राम्रोसँग अध्ययन भएको पाइँदैन । पछिल्लो एक÷दुई वर्षयता मात्र गाँजाबारे खुलेर छलफल हुन थालेको हो । कोकिन, हिरोइन भन्दा पनि गाँजालाई नकारात्मक मान्ने गरेका कारण धेरै काम हुन सकेन । अहिलेसम्म जे जति अध्ययन भएका छन्, ती सबै व्यक्तिगत तवरबाट भएका हुन् । यस्ता अध्ययनको आधारमा ठूलै कारोबार गर्न सकिन्छ भन्ने देखिन्छ । एक जना व्यक्ति (पवनमान जोशी) ले त गाँजाको खेती गर्न दिए ६ खर्ब रूपैयाँ सरकारलाई राजस्व तिर्ने बताउनु भएको छ । राजस्व नै वार्षिक ६ खर्ब तिर्न सकिन्छ भने त्यसको कारोबार कति होला ? कतिले रोजगारी पाउलान् ? र, यसले अर्थतन्त्रमा कति प्रभाव पार्ला ? पक्कै पनि यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिन्छ । हाम्रो विकास बजेट ३, ४ खर्ब हो ।े विकास बजेटका लागि चाहिने पैसा त हामी सजिलै गाँजाबाट राजस्व उठाउन सक्ने रहेछौं । ६ खर्ब राजस्व उठ्ने भए नेपालले विदेशीसँग सहयोग खोज्नु पर्ला र ? यो त राजस्वको मात्र कुरा हो । यसको समग्र व्यापार त निकै ठूलो छ यसको प्रभाव अझ धेरै हुन्छ । यसले वातावरण संरक्षण र हरियालीमा पनि प्रभाव पार्छ । गाँजाबाट कपडा तयार पारी संसारभर पु¥याए कस्तो होला ? यस्तै कारणले गाँजाको बारेमा अध्ययन हुन थालेको छ र यो क्रमलाई जोड दिनुपर्छ । गाँजाको बारेमा नेपाली विज्ञहरू संसारभर कार्यरत छन् । कैयन नेपालीहरू अध्ययनका लागि नेपालमा काम गर्न तयार छन् । सरकारले वैध गर्नेबित्तिकै विस्तृत अनुसन्धान हुँदै जान्छन् । अहिले संसारमा धेरै अनुसन्धान हुने क्षेत्र गाँजा भएको छ ।
गाँजा प्रतिबन्ध फुकुवाले पर्यटनको विकास होला ?
निकै सम्भावना छ । पर्यटकहरू नेपाल आउनुको कारण आनन्दपूर्वक बस्नलाई हो, कुनै तनाव झेल्नलाई होइन । अहिले पनि गाउँ जाने धेरैजसो पर्यटक गाँजा खान्छन् । तर विद्यमान कानुनमा गाँजा सेवन गर्दा समस्या हुन्छ, त्यसले गर्दा त्रास हुन्छ । यस्तो त्रासमा सबैले गाँजा सेवन गर्न सक्दैनन् । त्यसैले गाँजाको प्रतिबन्ध फुकुवा गर्ने हो भने पर्यटकको आगमन बढ्छ । जस्तो नेदरल्यान्डले नयाँ कानुन ल्याएर गाँजाको खेती गर्ने व्यवस्था मिलायो । नेपालको अर्थतन्त्र पर्यटनले टिकेको छ त्यसैले पर्यटकलाई के गर्दा खुशी राख्न सकिन्छ र के कुरा खपत गराउन सकिन्छ भन्नेमा ध्यान दिने हो भने पर्यटनको विकास हुन्छ । सरकारले यसलाई अर्थतन्त्रको मेरुदण्ड मान्छ भने कसरी सहयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । यो प्रतिबन्ध फुकुवा मात्र नभई व्यापारको क्षेत्र भएकालले कहाँ र कसरी सहयोग चाहिन्छ भन्ने प्रष्ट नीतिको आवश्यक छ । यसका लागि सरकारले गाँजा नीति बनाउन आवश्यक छ । जसरी, जलस्रोत, आइटी घरेलुलगायत नीति लिइएको छ, त्यसैगरी गाँजा नीति चाहिएको छ ।
गाँजामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने चर्चा हुँदै गर्दा तपाईको सुझाव के छ ?
यसलाई अहिले औषधीमा प्रयोग गर्ने भनिएको छ । यो काम गरिहालौं । गाँजाबाट नबन्ने औषधी खासै छैन । सरकारले किसान, महिला, बुढाबुढी मैत्री गाँजा नीति लिनुपर्छ । दिनभरि काम नगरेर बस्नुभन्दा उनीहरूलाई लाभ हुने नीति लियो भने सबैले लाभ लिन सक्छन् । सरकारले लिने नीतिले स्वदेशी र विदेशी लगानीकर्तालाई पनि सहज हुनुपर्छ । गाँजा रोप्न नीतिले सहयोग गर्नुपर्छ । सरकारले गहुँ, धान वा गाँजा के रोप्ने भन्ने कुराको छनोट किसानलाई दिन सक्नुपर्छ । गाँजा हरेक चिज उपयोग गर्ने बाली हो । यसको काम नलाग्ने कुनै पनि चिज छैन । त्यस्तै गाँजालाई अपराधीकरण गर्न पनि आवश्यक छैन । यसलाई गैरअपराधीकरण गर्नेबित्तिकै गाँजाको आरोपमा पक्राउ परेका व्यक्तिहरू पनि जेलबाट रिहा हुन्छन् । यसले गर्दा राज्यले कैदीबन्दीका लागि अहिले गर्दै आएको वार्षिक एक अर्ब रूपैयाँ हाराहारी बचत समेत हुन्छ ।