नरेन्द्र मोदीलाई युद्धविरामको आह्वान गर्नुअघि जेडी भान्सले प्राप्त गरेका थिए ‘खतरनाक सूचना’

टुरिजमफेस
काठमाडौं । अमेरिकी शीर्ष अधिकारीहरूको समूहले भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वलाई नजिकबाट निरीक्षण गरिरहेको बेला अमेरिकाले गुप्तचर विभागबाट ‘खतरानाक’ जानकारी प्राप्त गरेको थियो । त्यो समूहमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री एवं अन्तरिम राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो, ह्वाइट हाउस चिफ अफ स्टाफ सुसी वाइल्सलगायत अधिकारी थिए ।
ती अधिकारीहरूले संवेदनशीलताका कारण ‘खतरनाक जानकारी’को प्रकृति बताउन अस्वीकार गरे । तर, त्यस्तो जानकारीले भारत–पाकिस्तान तनाव मामिलामा अमेरिका थप संलग्न हुनुपर्छ भन्ने विश्वस्त पार्न महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूले बताए ।
त्यसपछि भान्स आफैँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्ने निर्णय गरे । प्रशासनका अधिकारीहरूका अनुसार, भान्सले राष्ट्रपति ट्रम्पलाई उक्त योजनाको जानकारी गराए । र, मोदीसँग कुरा गरे । उनले भारतीय प्रधानमन्त्रीलाई स्पष्ट पारे, ह्वाइट हाउसलाई लाग्छ कि सप्ताहान्तमा यो द्वन्द्व नाटकीय रूपमा बढ्ने उच्च सम्भावना छ ।
भान्सले मोदीलाई पाकिस्तानसँग सिधा सम्पर्क गर्न र तनाव कम गर्ने विकल्पबारे सोच्न प्रोत्साहन गरे । त्यति बेलासम्म अमेरिकालाई लाग्थ्यो कि परमाणु–सक्षम दुई छिमेकी मुलुक भारत र पाकिस्तान आपसमा कुरा गरिरहेका थिएनन् । उनीहरूलाई वार्तामा ल्याउन आवश्यक थियो । भान्सले मोदीलाई एक सम्भावित समाधान पनि बताए, अमेरिकालाई लाग्थ्यो कि पाकिस्तानले त्यो स्वीकार गर्न सक्छ । तर, यसबारेमा उनीहरूले विस्तृत विवरण दिएनन् ।
त्यो फोन कलपछि रुबियोसहित राज्य विभागका अधिकारीहरूले रातभर भारत र पाकिस्तानका उनीहरूका समकक्षीसँग संवाद गर्न थाले ।
रुबियोले आफ्ना समकक्षीलाई गरेका कलबारे जानकार एक अधिकारीले भने, “हप्ताको सुरुआतमै तनाव कम गर्न धेरै प्रयास भइरहेको थियो । र, त्यस बेलासम्म दुवै पक्ष आपसमा कुरा गरिरहेका थिएनन् ।”
उनले अगाडि भने, “यो हप्ताको सुरुमा लक्ष्य भारत र पाकिस्तानलाई हाम्रा समकक्षीसँग कुरा गर्न प्रोत्साहन गर्नु र युद्धविराममार्फत तनाव कम गर्ने बाटो खोज्नु थियो । यी कुराकानीका क्रममा अमेरिकी अधिकारीहरू दुवै पक्षका निम्ति सम्भावित समाधान कस्ता देखिन सक्छन् भन्ने बुझ्न सफल भए । र, त्यो सन्देश साट्न र कम्युनिकेसन दूरी केही मेट्न मद्दत गर्न सके । यसबाट दुवै पक्षले वास्तवमा कुरा गर्न सके र अहिलेको अवस्थामा पुग्न सके ।”
मोदीलाई भान्सको फोन कल एक निर्णायक क्षण थियो । भान्सले गएको महिना भारत भ्रमण गरी मोदीसँग भेटेका थिए । ट्रम्प प्रशासनका अधिकारीहरूको विश्वास थियो कि मोदीसँग उनको सम्बन्धले यो कलमा मद्दत गर्नेछ ।
त्यो फोन गर्नुभन्दा एक दिनअगाडि मात्र उपराष्ट्रपति भान्सले दुई देशबीचको द्वन्द्व ‘हाम्रो कुनै काम होइन’ भन्दै अमेरिकी प्रभावको सम्भावनालाई तुच्छ ठानेका थिए ।
‘हामीले गर्न सक्ने भनेको यी मानिसलाई तनाव केही कम गर्न प्रोत्साहन गर्ने हो । तर, हामी त्यो युद्धको बीचमा संलग्न हुने छैनौँ, जुन हाम्रो कुनै काम होइन र अमेरिकाले यसलाई नियन्त्रण गर्ने क्षमतासँग पनि कुनै सम्बन्ध छैन,’ भान्सले भनेका थिए ।
उनले भनेका थिए, ‘तपाईंलाई थाहा छ, अमेरिकाले भारतीयलाई हतियार तल राख्न भन्न सक्दैन । हामी पाकिस्तानीलाई पनि हतियार तल राख्न भन्न सक्दैनौँ । त्यसैले हामी यसलाई कूटनीतिक मार्गमार्फत नै अघि बढाउँदै छौँ ।’ तनावको लामो इतिहासमा भारत र पाकिस्तानले विदेशी हस्तक्षेपलाई फरक ढंगले हेरेका छन् । विश्लेषकका अनुसार, आफूलाई उदयोन्मुख महाशक्ति मान्ने भारतले लामो समयदेखि अन्तर्राष्ट्रिय मध्यस्थतालाई इन्कार गरेको छ । जबकि, विदेशी सहयोगमा धेरै निर्भर पाकिस्तानले यसलाई स्वागत गर्ने गर्छ ।
सीएनएनबाट