प्रधानमन्त्री ओलीको स्पेन भ्रमणः स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान पुग्ने विश्वास

फाइल तस्विर
टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार स्पेन प्रस्थान गर्ने तयारी पूरा भएको छ । उनी शनिबार साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्दैछन् । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो । त्यहाँ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग समेत भेटवार्ता गर्नेछन् ।
उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।
ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुँदैछन् ।
फाइल तस्विर