काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२७ मा हुने एकदिवसीय पुरुष क्रिकेट विश्वकपका लागि आयोजक राष्ट्र र खेलस्थलको औपचारिक घोषणा गरेको छ।
आईसीसीका अनुसार आगामी विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिताका खेलहरू तीनै देशका विभिन्न सहरमा सञ्चालन हुनेछन्।
विश्वकपका अधिकांश खेल दक्षिण अफ्रिकाका आठ सहरमा आयोजना गरिनेछ भने जिम्बाब्वेका तीन सहरले पनि खेलको जिम्मेवारी पाएका छन्। नामिबियाको राजधानी विन्डहोक पनि प्रतियोगिताको एक प्रमुख खेलस्थल रहनेछ।
क्रिकेटको विश्वव्यापी विस्तारलाई थप गति दिने उद्देश्यका साथ आईसीसीले अफ्रिकी क्षेत्रलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि पनि दक्षिण अफ्रिकाले जिम्बाब्वे र केन्यासँग मिलेर सन् २००३ को विश्वकप आयोजना गरेको थियो।
विश्वकप–२०२७ मा विश्वका शीर्ष क्रिकेट राष्ट्रहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने अफ्रिकी महादेशले फेरि एकपटक क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको आतिथ्य गर्ने अवसर पाएको छ।