पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहितको टोली बेपत्ता
तस्बिर : एफपी /बीबीसी
तस्बिर : एफपी /बीबीसी
तस्बिर : एफपी /बीबीसी
काठमाडौं । पाकिस्तानस्थित कराकोरम हिमशृङ्खलाको ब्रोड पिक क्षेत्रमा गएको हिमपहिरोपछि नेपाली आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोलीसँग सम्पर्क टुटेको छ। स्थानीय पर्वतारोहण अधिकारीहरूले टोलीको अवस्थाबारे जानकारी जुटाउने प्रयास जारी रहेको बताएका छन्।
८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा बिहीबार दिउँसो हिमपहिरो गएको र त्यसयता टोलीसँग सम्पर्क हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टोलीमा विभिन्न देशका १० जना आरोही सहभागी रहेको बताइएको छ।
सम्पर्कविहीन टोलीमा नेपालका पाँच नागरिकसहित अमेरिका, चीन र ओमानका आरोहीहरू रहेको जानकारी सार्वजनिक भएको छ। प्रतिकूल मौसमका कारण तत्काल उद्धार कार्य प्रभावित भए पनि अवस्था अनुकूल हुनासाथ हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।
पाकिस्तानको पर्वतारोहण क्षेत्रसँग सम्बन्धित निकायहरूले घटनालाई गम्भीर रूपमा लिँदै सरकारी संयन्त्रसँग समन्वय गरेर खोजी कार्य अगाडि बढाइरहेका छन्। उपलब्ध सबै स्रोत–साधन परिचालन गरी टोलीको अवस्थाबारे जानकारी प्राप्त गर्ने प्रयास भइरहेको जनाइएको छ।
विश्वका चर्चित आरोहीमध्ये एक मानिने निर्मल पुर्जा उच्च हिमाल आरोहणका क्षेत्रमा स्थापित नाम हुन्। उनले सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक कठिन भूगोल, अप्रत्याशित मौसम र हिमपहिरोको जोखिमका कारण आरोहीहरूका लागि चुनौतीपूर्ण गन्तव्य मानिन्छ। हाल सम्पूर्ण पर्वतारोहण समुदायको ध्यान टोलीको खोजी तथा उद्धार अभियानतर्फ केन्द्रित भएको छ।
तस्बिर : एफपी /बीबीसी