विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत साउन १० गते भएको गोलीकाण्डका मृतकका परिवार र सरकारबीच सहमति भएको छ। सहमतिसँगै घटनापछि जारी आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने अस्पतालमा रहेका शव परिवारले बुझ्ने भएका छन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सातबुँदे लिखित सहमति भएको हो। सहमतिपत्रमा पीडित परिवारका तर्फबाट कुशदेव मेहता र नरेश मेहताले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउनेछ। साथै प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले आर्थिक राहत उपलब्ध गराइनेछ। परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने, घटनासँग जोडिएको मदरसाको कानुनी अवस्थाबारे अनुसन्धान गर्ने तथा छानबिन समितिले दिने सुझाव कार्यान्वयन गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
यस्तै, मृतकको सम्झनामा स्थानीय तहसँगको सहकार्यमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।