पोखराको बेगनास बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न प्रचारप्रसार र पूर्वाधार विकासका काम हुँदै

टुरिजमफेस
गण्डकी । बेगनासतालस्थित बेगनास बराह प्राचीनकालदेखि ठूलो आस्था र विश्वास बोकेको धार्मिकस्थल भए पनि यो अझै पनि प्रवर्द्धनको पर्खाइमा छ भन्दा अत्युक्ति नहोला । प्रचारप्रसार र पूर्वाधार विकासका कारण बेगनास बराहको अहिलेसम्म पनि धार्मिक पर्यटकीय उपयोग हुन सकेको छैन ।
धार्मिक आस्था एवं विश्वासका साथ परापूर्वकालदेखि पूजाआजा गर्दै आइएको बेगनास बराहको प्रचारप्रसारसँगै यहाँको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि पछिल्लो समयमा यहाँका सामाजिक सङ्घसंस्था क्रियाशील बनेको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउँछन् ।
सात तालको बाटिका सहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनासताल पारी किनारामा रहेको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ यसको प्रचारप्रसारका साथै पूर्वाधार विकासका कामहरू अघि बढाइएको उनले जानकारी दिए । यहाँका बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास तालबराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको उनको भनाइ छ ।
साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा यसअघि नै पदमार्ग, बस्ने ठाउँ, वनभोज स्थल आदिको निर्माण गरिसकिएको थियो । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि पुरातत्व विभागका प्राविधिकले समेत अध्ययन गरिसकेका छन् ।
अध्यक्ष अधिकारीका अनुसार हालै बेगनास ताल परिसरमा बराहको मन्दिरसँगै लक्ष्मीनारायण, पञ्चायन देवता मन्दिर आदिको निर्माण गरिएको छ । बराहको प्राचीन शिलालाई भने जस्ताकोतस्तै राखिएको उनले जानकारी दिए । बराह मन्दिरसहित लक्ष्मीनारायण, पञ्चायन मन्दिरलगायतको पूर्वाधार निर्माणका लागि करिब दुुई करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । मन्दिरसहितका पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु ८० लाख बजेट विनियोजन भएकामा प्राविधिक मूल्याङ्कनलगायतका कारणबाट रु ६० लाख प्राप्त भएको थियो ।
त्यस्तै सङ्घीय सरकारबाट रु २७ लाख तथा बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाबाट रु ३८ लाख विनियोजन भई काम गरिएको छ । मन्दिरका मूर्ति, गजुरलगायतका विभिन्न सामग्रीका लागि विभिन्न भक्तजन एवं दाताबाट पनि सहयोग प्राप्त भएको अधिकारीले जानकारी दिए ।
पूर्वाधार निर्माणकै क्रममा डुङ्गाघाट रु १० लाख ६५ हजार निर्माण गरिएको छ भने त्यहाँ नजिकै पर्यटकलाई लक्षित गरी रु दुई लाखको लागतमा प्रतीक्षालय निर्माण गरिएको छ । त्यस्तै रेलिङलगायतका संरचना पनि निर्माण भएका छन् । मन्दिरलगायतका विभिन्न संरचना निर्माण भएसँगै बेगनास तालमा आउने पर्यटकलाई बेगनास बराह क्षेत्रमा पु¥याएर धार्मिक महत्वलाई पर्यटकीय रुपमा उपयोग गर्न खोजिएको छ ।
बेगनास तालमा आउने पर्यटकलाई डुङ्गामार्फत बराह मन्दिरसम्म पुर्याउनका लागि बेगनास डुङ्गा व्यवसायी सङ्घले सहुलियतपूर्ण दरमा भाडादर तय गरेको बेगनास डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष रविराज कँडेलले जानकारी दिए ।