लालिगुराँस बिस्ट्रो रेष्टुरेन्ट, जहाँ न्युयोर्कका नवनिर्वाचित मेयर ममदानीले खाए नेपाली मःम र चिया
टुरिजमफेस
काठमाडौं । विश्वको सर्वाधिक महँगोमध्ये एक तथा आर्थिक राजधानी अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि जोहरन ममदानीले नेपाली रेष्टुरेन्ट लालिगुराँस बिस्ट्रोमा पुगेर मःम र चिया खाएका छन् ।
ममदानीले अघि सारेका नीतिका कारण यतिखेर उनी विश्वभरि नै चर्चामा छन् । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र विरोध र असहयोग हुँदाहुँदै उनी विजयए भएरै छाडे । उनी मुस्लिम समुदायबाट न्युयोर्कको मेयर हुने पहिलो व्यक्ति समेत हुन् ।
मेयरमा निर्वाचित भएलगत्तै उनी अमेरिकाको ज्याक्सन हाइट्सस्थित नेपाली रेष्टुरेन्ट लालिगुराँस बिस्ट्रोमा पुगेर मःम र चिया खाएर ‘लञ्च’ गरेका थिए । ३४ वर्षीय ममदानीले नेपाली रेष्टुरेन्टमा लञ्च गर्दै गरेको तस्बिर आफ्नो अकाउन्ट एक्समा समेत साझा गरेका छन् ।

उनले लेखेका छन्– मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो । मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो ।’ उनले गौतम बुद्धको फोटोको अगाडि उभिएर फोटो पनि खिचाएका छन् । उनले न्युयोर्कको मेयरको पदभार भने आउँदो जनवरी १ पछि सम्हाल्ने छन् । उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बनेका छन् ।
