मिथिलामा सुरु भयो छठको रौनक
टुरिजमफेस
धनुषा । मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु भएको छ । विगतमा मधेसी समुदायमा मात्र सीमित रहेको यो पर्व पछिल्ला वर्षमा राजधानी काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको छ ।
छठ पर्वको अवसरमा यही कात्तिक १० गते सङ्घीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ भने मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
छठका लागि मधेस प्रदेशको मुख्यालय जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका सबै गाउँ सहरका पोखरी, नदी, तलाउमा तयारी सुरु भएको मैथिली संस्कृतिका जानकार रामभरोस कापडीले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले छठलाई लक्षित गरी जलाशय सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत सुरु गरिएको बताउनुभयो । प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि जनकपुरधामस्थित गङ्गासागर, धनुष सागर, अरगज सरलगायतमा स्थानीय तह समेतको सहयोगमा घाट सरसफाइ र सजावट भइरहेको छ । जनकपुरधाममा गङ्गासागर, धनुषसागर र अरगजा पोखरीमा बढी भीड लाग्ने गर्छ ।
छठ नजिकिएसँगै स्थानीयहरु पनि किनमेलमा सक्रिय भएका छन् । छठ पर्वको लागि मुख्य प्रसादको रुपमा केराको घरी चढाउनु पर्ने भएको हुँदा क्षीरेश्वरनाथ नगरपालिका–७ स्थित नयाँ बजारमा केरा खरिद आएकी अनिता देवी यावदले यस पटक केराको मूल्य बढेको बताइन् ।
