बक्यौता विद्युत् महशुल नतिर्ने छ वटा उद्योगको लाइन काटियो

टुरिजमफेस
काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ ।
विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार आजबार बिहानबाट यी उद्योगहरुको विद्युत् लाइन काटिएको हो ।
डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालिन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महशुल बक्यौताबारे अध्ययन भई २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ ।
उद्योगी व्यवसायीहरुले भने आफुहरुले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग नै नगरेकाले त्यसको महशुल नतिर्ने बताउँदै आएका छन् । यो विषय विभिन्न अदालत, सङ्घीय संसदको सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो ।
पछिल्लो पटक प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन आउन भनेको थियो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महशुल सङ्कलन नियमावली २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।