अन्तिम समयमा किन फर्काइयो टर्किस एयरलाइन्सको जहाज ?
काठमाडौं । काठमाडौं–इस्तानबुल उडानका लागि सबै तयारी पूरा गरी धावनमार्गमा गति लिइसकेको टर्किस एयरलाइन्सको जहाज आकस्मिक रूपमा रोकिन पुगेको छ। सम्भावित प्राविधिक जोखिम देखिएपछि जहाजलाई उडान नगरी सुरक्षित रूपमा पार्किङ बेमा फर्काइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२ः३५ बजे उड्ने तालिका रहेको टीके–७२७ उडान नम्बरको जहाजले उडान अनुमति पाएपछि धावनमार्गमा दौड सुरु गरेको थियो। तर टेकअफको ठीक अघि जहाजको इन्डिकेसन प्रणालीमा असामान्य संकेत देखिएपछि पाइलटले तुरुन्तै आपतकालीन निर्णय लिँदै जहाज रोकेका थिए।
त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार उडान सुरक्षालाई प्राथमिकतामा राख्दै जहाजलाई रनवेबाटै फर्काइएको हो।
“इन्डिकेसन सिस्टममा समस्या देखिएको जानकारी आएपछि उडान जोखिमपूर्ण हुन सक्ने ठहर गर्दै जहाज रोकियो,” उनले भने, “यात्रु र चालक दलको सुरक्षाका लागि यस्तो निर्णय लिइएको हो।”
जहाज पार्किङ बेमा फर्किएपछि प्राविधिक टोलीले विस्तृत जाँच सुरु गरेको छ। प्रारम्भिक जाँचमा ठूलो क्षति नभएको आशंका गरिए पनि सम्पूर्ण प्राविधिक परीक्षण पूरा नभएसम्म उडान नहुने विमानस्थल प्रशासनले जनाएको छ।
घटनाका कारण केही समय विमानस्थलको उडान तालिकामा सामान्य प्रभाव परेको थियो। यात्रुहरूलाई विमानस्थलमै जानकारी गराउँदै वैकल्पिक व्यवस्था र पुनःउडान समयबारे समन्वय भइरहेको टर्किस एयरलाइन्सले जनाएको छ।
उड्डयन विज्ञहरूका अनुसार धावनमार्गमै जहाज रोकेर फर्काइनु असहज भए पनि यसलाई उडान सुरक्षाको दृष्टिले सही र जिम्मेवार अभ्यास मानिन्छ। “आकाशमा पुगेपछि समस्या देखिनुभन्दा जमिनमै जोखिम नियन्त्रण गर्नु नै सुरक्षित उपाय हो,” एक उड्डयन विज्ञले बताए।
